News विदेश

प्रचण्ड भारतमै हुँदा भयानक रेल दुर्घटना, २३३ को मृत्यु

प्रचण्ड भारतमै हुँदा भयानक रेल दुर्घटना, २३३ को मृत्यु

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेकै वेला ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सय ३३ भन्दा बढीको मृत्यु भएको छ ।

चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएर रेलका केही बग्गी लिकबाट पल्टिएका थिए । 

उक्त दुर्घटनामा २३३ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका थिए । उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ ।

दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो । भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०÷१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् ।

गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपचार खर्च दिने पनि उनको घोषणा छ।

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।


 

विशेष