News खेल

पीएसजीबाट मेस्सीको दुखद बिदाई, अवको यात्रा बार्सिलोना की अल हिलाल ?

पीएसजीबाट मेस्सीको दुखद बिदाई, अवको यात्रा बार्सिलोना की अल हिलाल ?

विश्व स्टार खेलाडी लियोनल मेस्सीको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)बाट दुखद विदाई भएको छ। गएराती घरेलु मैदानमा क्लेरमन्टफर्टसँगको खेलपछि मेस्सी पीएसजीबाट बाहिरिएका छन् ।

अन्तिम खेलमा पीएसजी क्लेरमन्टफर्टसँग ३–२ ले पराजित भयो। त्यसैले अन्तिम खेल मेस्सीका लागि सुखद रहेन । रमन्टफर्टको जितमा जोहान गास्टिन, मेदी जिफेन र ग्रिजोन केयईले गोल गरे । पिएसजीका सर्जियो रामोस र केलियन एमबाप्पेले गोल गरे ।

पीएसजीले २ गोलको अग्रता जोगाउन सकेन । १६औं मिनेटमा रामोसले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । २१औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।

२४औं मिनेटमा जोहानले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयमा मेदी जिफेनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि ६३औं मिनेटमा ग्रिजोन केयईले गोल गर्दै क्लेरमन्ट फुर्टलाई ३–२ को जित दिलाए ।

यस हारका बावजुत पिएसजी फ्रेन्च लिग वानको च्याम्पियन बनिसकेको छ । यो खेलसँगै मेस्सीले क्लब छाड्ने भएका छन्। मेस्सीको यही सिजन पीएसजीसँगको सम्झौता समाप्त हुँदैछ।

मेस्सीले बार्सिलोना फर्कने पक्षमा सोचिरहेका छन्, तर पक्का भइसकेको छैन। यता, साउदीको अल हिलाल पनि उनलाई भित्र्याउन आतुर छ। साउदी अरब एफए अध्यक्ष यासेर अल–मिसेहलले अर्जेन्टिनाका सुपरस्टारलाई मध्यपूर्वमा ल्याउने आफ्नो रुचि सार्वजनिक गरेसँगै लिओनल मेस्सीको ट्रान्सफर गाथाले यस समरमा मोड लिएको छ।

कीर्तिमानी सात बालोन डी’ओर अवार्ड जितेका ३५ वर्षीय मेस्सी सन् २०२१ मा क्याट्लान क्लब बार्सिलोना छाडेर पीएसजी भित्रिएका थिए। उनले अर्जेन्टिनालाई कतारमा विश्वकपको उपाधि दिलाएका थिए। पीएसजीलाई उनले दुई पटक फ्रान्सेली लिग वानको उपाधि पनि जिताइसकेका छन्। पीएसजीका लागि यस सिजनमा मेस्सीले २० गोल गरे भने त्यति नै एसिस्ट दिएका छन्। 

सम्झौता सकिनुअघि नै मेस्सीले आफ्नो झुकाव साउदीतिर रहेको देखाइसकेका थिए। गत महिना साउदीको अनधिकृत यात्रा गरेपछि उनलाई दुई हप्ताका लागि निलम्बन गरिएको थियो। स्रोतलाई उल्लेख गर्दै रोयटर्स अर्जेन्टिनी कप्तान मेस्सीलाई अर्को सिजन साउदीको क्लब अल–हिलालले अनुबन्ध गर्न औपचारिक प्रस्ताव गरेको समाचार प्रकाशित गरिसकेको छ।

यदि, मेस्सी साउदी पुगे भने त्यो फुटबल इतिहासमा महत्वपूर्ण क्षण हुने छ। उनले रोनाल्डोको पाइला पछ्याउने छन् र मध्यपूर्वमा एक ठूलो खेलाडी थप हुने छ। ३८ वर्षीय रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता अन्त्य गर्दै गत वर्ष साउदीको क्लबमा अबद्ध भएका थिए। रोनाल्डोले साउदीको क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका छन्। रोनाल्डो २०२५ सम्म साउदी अरब क्लबमा रहने छन्।

लियोनल मेस्सी

विशेष