News

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सोमवारसम्म स्थगित

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सोमवारसम्म स्थगित

विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको वैठक सोमवारका लागि सरेको छ। संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो ।

यसअघि आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको तथा भारतमा प्रधानमन्त्रीले दिएको अभिब्यक्तिको विरोध गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्दा प्रक्रिया नपु¥याएको भन्दै उनीहरुले विरोध जनाए। बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले नागरिकता विधेयक प्रमाणिकरणमा संविधानको उल्लंघन भएको र फुलबारी नाकाको साटोमा कालापानी छाड्न तयार रहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा जवाफ नदिउन्जेल वैठक चल्न नदिने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता पाउनु नेपालीको अधिकार भए पनि जुन प्रक्रियाबाट प्रमाणीकरण गरिएको छ त्यसको विरोध गर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलको नेता राजेन्द्र लिङ्देनले लामो समयसम्म प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि किन प्रमाणीकरण गरियो भन्दै यस विषयमा सरकारले जवाफ दिनुपर्ने बताए। 

उनले नागरिकता मात्रै नभएर राष्ट्रपतिले आममाफी दिएको विषयमा पनि आपत्ति रहेको बताए । ‘भारत भ्रमणसहितको विषय प्रधानमन्त्रीले जवाफ नदिन्जेल यो संसद अघि बढ्न सक्दैन,’ लिङ्देनले भने ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । अघिल्लो संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै उनले ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन ।

दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याइदिएकी थिइन । त्यही विधेयक सत्ता गठबन्धनको सुझावमा राष्ट्रपति पौडेलले ९ महिनापछि प्रमाणीकरण गरेका हुन् ।

विपक्षी दलका सांसदहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए ।

बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा भएको छलफलमा पनि दलहरुबीच सहमति जुट्न नसकेपछि आइतबार पूर्वनिर्धारित कार्यसूची अनुसार प्रतिनिधिसभामा बजेटमाथि छलफल हुन सकेन । 
 

विशेष