News

प्रचण्डलाई ओलीको प्रश्नः विगुल फुक्न दिल्ली पुग्नुपर्ने थियो ?, तपाईले ल्याएको १५ ओटा राँगा नै हो

प्रचण्डलाई ओलीको प्रश्नः विगुल फुक्न दिल्ली पुग्नुपर्ने थियो ?, तपाईले ल्याएको १५ ओटा राँगा नै हो

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको कठपुतली भएको आरोप लगाएका छन्। उनले कठपुतीलाई ‘कम्फर्टेबल’ शब्द प्रयोग गर्दै दाहाल भारत भ्रमणका क्रममा हेपिएर आएको टिप्पणी गरे ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले ‘तपाईंले सबै फाँडेर आएजस्तो गर्नुभयो । तपाईंले साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा नै हो । अरु ल्याएँ भनेका कुरा त पुष्टी गर्नुपर्छ। आफू कम्फर्टेबल हुनुभयो, प्याट्रियोटिक हुन सक्नुभएन । तपाईं देशको पक्षमा उभिन सक्नु भएन’ भन्दै दाहाललाई निम्छरो भएको आरोप लगाए।

ओलीले नेपालको मिचिएको भूभागबारे किन दिल्लीमा कुरा नगरेको भन्दै दाहालमाथि प्रश्न गरेका थिए । ‘डरलाग्दो कुरा यहाँ छ । बुद्धिजीवीले काठमाडौंमा सट्टापट्टा पनि गर्नुपर्छ भनेका थिए भने त्यो कुरा भन्न दिल्ली पुग्नुपथ्र्यो ? यस्तो विगुल फुक्न दिल्ली पुग्नुपर्ने थियो ?’ ओलीले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल हेपिनुभयो भने नेपालको प्रधानमन्त्री हेपिएको हामी पनि हेपिएको हो । नेपाल समान सार्वभौम रुपमा चलेको देश हो । माओवादी केन्द्रको अध्यक्ष भएर जे गरे पनि भयो तर तपाईं प्रधानमन्त्री भएर यस्तो गर्न मिल्दैन ।’

प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको तथा प्रटोकल नमिलेको भन्दै उनले आलोचना गरेका थिए । यस्तै प्रधानमन्त्रीले दिल्लीमा भारतीय उच्च अधिकारीहरूसँगको भेटमा नेपाल सरकारका अधिकारीहरूलाई नराखेर छोरीलाई राखेकोमा पनि आपत्ति जनाएका थिए ।

यता प्रधानमन्त्री दाहालले भने भारतमा आफूलाई स्वागत र सम्मानमा कमि नगरिएको दाबी गरेका छन् । उनले आफ्नो स्वागतमा राज्यमन्त्री मात्रै विमानस्थलमा आउनु त्यहाँको सामान्य अभ्यास भएको बताए । दिल्लीमा विगतका प्रधानमन्त्रीहरुले जस्तै स्वागत पाएको तर इन्दोर र उज्जैनमा अभूतपूर्व स्वागत पाएको उनको भनाइ थियो ।

‘हाम्रा नेपाली दिदीबहिनी दाजुभाइ र भारतीय नेताले यस्तो सम्मान र स्वागत त अमेरिकाको राष्ट्रपति आउँदा एकचोटि देखिएको थियो, अहिले नेपाली प्रधानमन्त्री आउँदा देखयो भने ।’ उनले भने–‘पुरै टिमका सबैजना उत्साहीत भएर आएको स्थिति हो । धेरै पो राम्रो गरे त भन्ने भावसहित आएका छौं । अपमानित महसुस गरेनौं । चिन्ता लिनुपर्ने स्थिति छैन ।’

अर्कोतर्फ पुर्व राजदुत निलाम्वर आचार्यले भने दाहालको भ्रमणमा उपलब्धि केही नदेखिएको भन्दै ट्वीटरमा आलोचना गरेका छन्।
उनले यसरी लेखेका छन्ः
खुलस्त कुरा भयो
रिसाउँछन् कि भनेर ईपीजीको कुरा उठाइएन
१९५०को असमान सन्धि छोइएन
सार्क शिखरको उच्चारण गरिएन
कालापानीबाट सैनिक हटाउन भन्नै बनेन
सीमामा निर्माण रोक्न भनिएन
अग्निपथ उठाइएन
थप हवाईमार्ग पाइएन।
खुलस्त कुरा भयो
ऐतिहासिक भयो।
धेरै गरियो।
बिजुली व्यापार हुनेभयो
सम्भालियो।

विशेष