News

पाल्पा जीप दुर्घटनामा २ वर्षिय बालक र वडासदस्यसहित ५ जनाको मृत्यु

पाल्पा जीप दुर्घटनामा २ वर्षिय बालक र वडासदस्यसहित ५ जनाको मृत्यु

पाल्पामा आईतवार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। रैनादेवी छहरा–८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटना भएको थियो।

दुर्घटनामा दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–२, का २ वर्षीय बालक संयोग गौतम र पाणिनी–१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । संयोगको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र विजयको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विजय पोखरेल सोही वडाका वडासदस्य हुन् ।

घटनास्थलमा तीन जनाको मृत्यु भएको थियो । घटनास्थलमा मृत्यु हुनेहरुमा अर्घाखाँचीको पाणिनी–१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी–२ पोखराथोककी २५ वर्षीया सीता गौतम छन् ।

उपचारका क्रममा मृत्यु भएका २ वर्षीय संयोग मृतक सीताका छोरा हुन् । रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ साढे ५ बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जना घाइते छन् । घाइतेहरुमध्ये अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ धरमपानी बस्ने ७ वर्षीय समीर पाण्डेय, सोही स्थानका १० वर्षीय अनुप सोमरे, पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान बस्ने ५ वर्षीया आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षीया लक्ष्मी पोखरेलको अवस्था गम्भीर छ । उनीहरुको उपचार भैरहवा मेडिकल कलेज रुपन्देहीमा भइरहेको छ ।

अर्घाखाँचीको पाणिनी–१, का ६६ वर्षीय रामबहादुर विक, सोही स्थानका ६ वर्षीय संयोग गौतम, सोही स्थानकी ५ वर्षीया पर्विष्टी पोखरेल, सोही स्थानका १० वर्षीय सोलिन परियार र गुल्मीको रुरु गाउँपालिका बलेटक्सारका ९ वर्षीय सार्थक ज्ञवाली पनि घाइते छन् । उनीहरुको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ ।

पाणिनी–१, अर्घाखाँचीका ४० वर्षीय हरि गौतमको बुटवल स्थित चौराहा अस्पतालमा उपचार भईरहेको छ।  

विशेष