News

प्रचण्डले भने– कालापानी भारतसँग सट्टापट्टा गर्ने कुरा मैले गरेको छैन

प्रचण्डले भने– कालापानी भारतसँग सट्टापट्टा गर्ने कुरा मैले गरेको छैन

प्रधानमन्त्री पुष्पकमल दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिने कुरा आफुले नगरेको वताएका छन्। भारत भ्रमणबाट फर्किएपछि संसद्लाई त्यसको जानकारी दिने क्रममा प्रधानमन्त्री दाहालले उक्त भूमि नेपालको हो भन्ने स्थापित गर्नका लागि आफू लागेको बताए।

प्रतिनिधिसभाको सोमबारको बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले बंगलादेश जाने बाटोसँग नेपालको भुमी साट्ने प्रस्ताव आफूले नराखेको प्रस्ट पारे। सीमा समस्याबारे आफ्नो स्पष्ट धारणा रहेको र भारत भ्रमणमा पनि त्यै राखेको उनको भनाई छ।

‘मैले कहिँ पनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्ताव गरेको छैन । प्रस्ट होस्, कहिँ कोही कन्फ्युजन नरहोस् । हामीले भनेका छौं कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो, नेपालको भूमि हो भन्ने स्थापित गर्ने कुरामा म प्रस्ट छु,’ उनले भने, ‘मैले त्यहीअनुसार आफ्नो भूमिका खेलेको छु, माननीय सदस्यहरूले तथ्य र तर्कलाई, सिधा देखिएको कुरालाई हामी कसैले पनि घुमाउने कोसिस नगरौं भन्ने मेरो अनुरोध छ ।’

दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नेपाल र भारतबीचको सीमा विवाद समाधान गर्नुपर्छ भनेर सार्वजनिक रूपमा अभिव्यक्ति दिएकोप्रति खुसी हुनुपर्ने तर्क गरे। ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा र सीमामा जहाँ–जहाँ समस्या छन‚ तीसम्बन्धी विषयमा यो सदनलाई पूरै जिम्मेवारी र गम्भीरताका साथ भन्न चाहन्छु मैले बडो प्रस्टसँग यी समस्यालाई हामीले समाधान गर्नैपर्छ भनेको छु ।’ उनले भने।

जबसम्म यी समस्याको स्थायी र दीर्घकालीन समाधान गरिँदैन नेपाल–भारत सम्बन्ध सहज हुन सक्दैन भनेर बडो प्रस्टसँग अन्य नेताहरूका अतिरिक्त भारतीय प्रधानमन्त्रीसँग समेत राखेको उनले वताए । ‘मलाई लाग्छ यति प्रस्टसँग सिमानाको समस्या हल गर्नुपर्छ भनेर खुलस्त राखिएको मेरो बुझाइमा यो पहिलोपटक नै हो ।’– दाहालले भने।

भारतीय कब्जामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको भूमि बंगलादेश जाने बाटोसँग साट्न सकिने कुरा केही बुद्धिजीवीहरूले राखेको कुरा आफूले उल्लेख गरेको तर त्यस्तो प्रस्ताव आफूले नराखेको प्रधानमन्त्रीको भनाइ थियो ।

विशेष