News

भैरहवामा आईएलएस सञ्चालनको अनुमति पाएको भनेर प्रचण्डले किन झुठो बोले ?

भैरहवामा आईएलएस सञ्चालनको अनुमति पाएको भनेर प्रचण्डले किन झुठो बोले ?

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेकै वेला भारतले नेपाललाई भैरहवामा इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालनको अनुमति दिएको समाचार सार्वजनिक भयो। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले समेत आईएलएस सञ्चालनको अनुमति पाएको सूचना दिए।

तर, आईएलएस सञ्चालन अननुमतिका विषयमा प्रधानमन्त्री र महानिर्देशक दुवै जनाले झुठो बोलेको पुष्टि भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपालले हालसम्म गौतमबुद्ध विमानस्थलमा आईएलएस सञ्चालनको लागि अनुमति नपाएको स्पष्ट पारेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमै भैहरवा विमानस्थलमा आईएलएस सञ्चालन अनुमति दिएकोमा आभार व्यक्त गरेका थिए। ‘बोर्डरनजिकै रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा अनुमति दिएको हामी भारतलाई कदर गर्न चाहान्छौं,’ दाहालले भनेका थिए।

प्रधानमन्त्रीले महेन्द्रनगरबाट नयाँ हवाई रुटको विषयमा कुरा भएको र नयाँ विमानस्थल भैरहवा र पोखराका विमानस्थलबाट उडान गर्न सकिने जानकारी गराएका थिए। 

प्रधानमन्त्रीको संयुक्त पत्रकारसंगै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले पनि आईएलएस सञ्चालनको अनुमति पाएको दावी गरे।

तर, आजको प्रतिनिधि सभाको वैठकमा भने प्रधानमन्त्री दाहालले बोली फेरेका छन् । भारत भ्रमणको विषयमा संसद्मा जानकारी गराएका दाहालले आईएलएसको विषयमा छलफल भएको बताए। 

‘हवाई सेवालाई थप सुरक्षित बनाउन नेपालले अर्को हवाई मार्ग र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको लागि इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम सञ्चालन गर्ने प्रक्रिया सम्बन्धमा भारतीय पक्षको समझदारीको बारेमा सकरात्मक कुरा भए,’ उनले भने।

विशेष