News

शरणार्थी प्रकरणमा केपी ओली, प्रचण्ड, आरजु र मञ्जुको पनि बयान लिनुपर्ने वकिलको माग

शरणार्थी प्रकरणमा केपी ओली, प्रचण्ड, आरजु र मञ्जुको पनि बयान लिनुपर्ने वकिलको माग

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आरोपितहरु विरुद्धको मुद्दामा थुनछेक बहस चलिरहेको छ । मंगलबार अपराह्न जाहेरीकर्ताहरुको तर्फबाट बहस गरेका अधिवक्ता हरिप्रसाद खरेलले आरोपितहरुले बयानमा नाम लिएकाहरुको पनि बयान लिनुपर्ने माग गरेका छन् ।

उनले जिल्ला अदालत काठमाडौंमै विचाराधीन उमेश रेग्मीविरुद्ध सौगात सुनुवारको जाहेरीले नेपाल सरकार वादी भएको मुद्दाको उदाहरण दिँदै आरोपितले बयानमा नाम लिएकाहरुलाई पनि अदालतमा झिकाउन माग गरेका हुन् ।

‘ठगीसम्बन्धी त्यो मुद्दामा दुई जनालाई अभियुक्त बनाएर लगियो। त्यसपछि बयानका क्रममा अभियुक्तले अर्का एक जनाको पनि नाम पोलेका थिए। वकिलले पनि बहस गरेको सुनेर इजलासले ती व्यक्तिमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो,’ उनले बहस गर्ने क्रममा भने।

त्यसैगरी यो मुद्दामा प्रतिवादीहरूले बयानका क्रममा पोलेका थप व्यक्तिहरूमाथि अनुसन्धान गर्न अदालतले आदेश दिनुपर्ने उनको जिकिर थियो। ‘यस प्रकरणमा पनि प्रतिवादीहरू सानु भण्डारी, केशव दुलाल र टेकनाथ रिजाल लगायतले पैसा बुझाएको भनेका व्यक्तिहरूको नाम पोलेका छन्। अजयक्रान्ति शाक्य, आरणु राणा, मञ्जु खाण, बेचेन झा, प्रधानमन्त्री प्रचण्ड, केपी शर्मा ओली, प्रेमकुमार राई लगायत सबैलाई पोलेका छन्,’ उनले भने।

‘आफूहरूले कुन कुन नेतालाई भेटेँ भनेर टेकनाथ रिजालले बयानमा खुलाएको देखिन्छ। पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा र प्रचण्डलाई निवासमै गएर टोपबहादुर रायमाझीले भेटाएको भन्ने छ’ खरेलले भने–‘उनीहरूमाथि पनि अनुसन्धान गर्न अदालतले आदेश दिनुपर्छ।’

‘उनीहरूले बारम्बार ती व्यक्तिहरूलाई पोलेका छन्। यो मुद्दा राष्ट्रिय गरिमामा क्षति पु¥याउने खालको हो। अदालत कन्भिन्स भए उनीहरूमाथि अनुसन्धान गर्न आदेश दिन सक्छ,’ उनले भने।

यस्तै बहसको क्रममा प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनेसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा समेत खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए।

मंगलबार पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरूद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो। 

भुटानी शरणार्थी

विशेष