News

सुनकोशीमा बेपत्ता भएको सीटीईभीटीको गाडी र दुई कर्मचारीको शव भेटियो

सुनकोशीमा बेपत्ता भएको सीटीईभीटीको गाडी र दुई कर्मचारीको शव भेटियो

५ दिन अघि सुनकोशी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई कर्मचारीको शव फेला परेको छ । घटनास्थलबाट करिब २ सय मिटर तल जिप र दुई वटा शव फेला परेको हो।

कोशीको पारितर्फ किनारमा गाडीएको अवस्थामा जिप र शव फेला परेको हो। सशस्त्र प्रहरीको गोताखोरले मंगलबार साँझ सवा ६ बजे सुनकोशीबाट गाडी र दुई वटा शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

कोशीको बहाव फर्काएर नदीमा पानी घटाएपछि गाडी र शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो सुनकोशी नदीमा खसेको थियो। मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट जीप खस्दा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए ।

एक जनाको शव अझै फेला नपरेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जिप चालक दाङ घर भएका कृष्ण चौधरी भने पौडिएर निस्किएका थिए ।
 

सीटीईभीटी

विशेष