News

एमाले नेतृत्वको एक मात्र सरकार संकटमा, कोशीमा माओवादीले पनि साथ छोड्यो

एमाले नेतृत्वको एक मात्र सरकार संकटमा, कोशीमा माओवादीले पनि साथ छोड्यो

कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) वाहिरिएको छ। मंगलबार बसेको माओवादी केन्द्रको प्रदेश पदाधिकारी बैठकले मुख्यमन्त्री हिक्मत कार्कीको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

कार्की सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको प्रदेश कमिटी सचिव गणेश उप्रेतीले जानकारी दिए। प्रदेश पदाधिकारीको निर्णयलाई अब माओवादी प्रदेश संसदीय दलले अनुमोदन गर्नेछ।

माओवादीले समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ। कोशी प्रदेश सरकारबाट जेठ १७ मा जसपा बाहिरिएको थियो। फागुन १७ मा प्रदेशको नाम कोशी राखेपछि चुलिएको पहिचानवादी आन्दोलनको दबाब र केन्द्रीय गठबन्धनको नीति अनुसार जसपाले सरकार छाडेपछि माओवादीलाई पनि सरकार छाडन चर्को दबाब परेको थियो। 

गत सोमबार विराटनगरमा बसेको प्रदेश संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा नया सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि माओवादी सरकारबाट बाहिरिने निश्चित भएको थियो। 

सभामुखसहित १३ सिट भएको माओवादीले साथ छाडेपछि एमाले नेतृत्वमा रहेको एक मात्र प्रदेश सरकार संकटमा परेको छ। सत्ता साझेदार माओवादीले साथ छाडेपछि अब मुख्यमन्त्री कार्कीसँग एमालेका ४० र राप्रपाका ६ जना गरी ४६ जना मात्रै सासद रहेका छन्।  

गत पुस १० गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसमेतको केन्द्रमा गठबन्धन बनेको थियो। त्यही गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका थिए।

पुस २६ गते नेपाली कांग्रेसले समेत प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि एक महिना नबित्दै गठबन्धन धर्माराएको थियो। माघ १३ गते रास्वपा र फागुन १५ गते एमाले सरकारबाट बाहिरिए। पुस २७ मा भएको राष्ट्रपति निर्वाचनमा गठबन्धन फेरिएर रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि संघमा एमाले प्रतिपक्षीको बेञ्चमा पुग्यो।

केन्द्रीय गठबन्धन फेरिएको तीन महिनापछि कोशीमा कार्यान्वयन हुने भएको हो। 
 

विशेष