‘अखण्ड भारत’ को नक्साबारे बंगलादेशले भारतलाई स्पष्टिकरण सोध्ने
भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे बंगलादेशले स्पष्टिकरण सोध्ने तयारी गरेको छ।
बंगलादेशले भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिएको छ । बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताए ।
प्राचीन भारतको साम्राज्य पूर्वदेखि पश्चिम फैलिएको देखिएको उक्त नक्सामा नेपाल र पाकिस्तानमा समेत विरोध भइरहेको जानकारी गराए ।
बंगलादेशको विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीका नेताले उक्त नक्सा ‘बंगलादेशको स्वतन्त्रता र सार्वभौमिकताको लागि खतरा’ भनेर वर्णन गरेको दुई दिन पछि विदेश राज्यमन्त्री आलमको यो टिप्पणी सार्वजनिक भएको हो ।
नक्सालाई लिएर वंगलादेशमा व्यापक आक्रोश देखिएको उनले वताए । ‘यसको स्थापनामा कुनै शंका छैन । यद्यपि, थप स्पष्टीकरणको लागि हामीले दिल्लीस्थित मिसनलाई भनेका छौं’ आलमले भने–‘भारतको आधिकारिक धारणा के हो भनेर बुझ्नको लागि त्यहाँको विदेश मन्त्रालयसँग कुरा गर्न भनिएको छ।’
भारतको नयाँ संसद भवनमा राखिएको उक्त नक्सा २८ मे मा प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेपछि त्यसको नेपाल र पाकिस्तानमा विरोध भइरहेको छ । नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चार दिने भ्रमण पनि त्यो विषय नउठाएको भन्दै संसदमा आलोचना भएको छ।
प्रधानमन्त्री दाहालले भने त्यो विषयमा समकक्षी नरेन्द्र मोदीसँग आफूले कुरा गरेको वताएका छन्।