आफनो संसदको संयुक्त वैठकलाई सम्वोधन गर्न मोदीलाई अमेरिकाको निम्तो
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकाको सभामुख तथा सिनेटका अध्यक्ष एवम् अन्य अधिकारीले अमेरिकी संसदमा सम्बोधनका निम्ति निम्तो दिएका छन्। यो विदेशी प्रतिष्ठित व्यक्तिहरूलाई अमेरिकाले दिने सर्वोच्च सम्मानमध्ये एक हो।
मोदीले पनि अमेरिकी सदनको निमन्त्रणा स्वीकार गर्दै संयुक्त बैठकमा सम्बोधन गर्ने घोषणा गरेका छन्। मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। मोदीले असारको पहिलो सातादेखि गर्ने अमेरिकाको राजकीय भ्रमणका क्रममा त्यहाँका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका हुन्।
अमेरिकी कङ्ग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रधानमन्त्री मोदी एकमात्र भारतीय नेता हुनेछन्। ‘संयुक्त राज्यको प्रतिनिधिसभा र संयुक्त राज्य सिनेटको द्विदलीय नेतृत्वका तर्फबाट तपाईं (प्रधानमन्त्री मोदी) लाई बिहीबार जुन २२ का दिन कङ्ग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्न आमन्त्रित गर्नु हाम्रा लागि सम्मानको कुरा हो,’ सभामुख केभिन म्याकार्थी, सिनेट बहुमतका नेता चक शुमर, सिनेट रिपब्लिकन नेता मिच म्याककोनेल र हाउस डेमोक्रेटिक नेता हकिम जेफ्रिजले हस्ताक्षर गरेको आमन्त्रणपत्रमा लेखिएको छ।
सन् २०१४ मा प्रधानमन्त्री बनेपछि नेता मोदीले तीनैजना अमेरिकी राष्ट्रपति बाराक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनसँग द्विपक्षीय र बहुपक्षीय भेटघाटका लागि आधा दर्जनभन्दा बढीपटक अमेरिकाको भ्रमण गरेका छन्।
तर, राजकीय भ्रमणका निम्ति उनलाई पहिलोपटक निमन्त्रणा गरिएको हो। अमेरिकाका नजिकका मित्र र सहयोगीहरूलाई मात्र यस्तो सम्मान दिने प्रचलन छ।