News

एमाले नेतामाथि प्रचण्डले आक्रमण गराएको ओलीको आरोपः तयारीका साथ दनक दिने चेतावनी

एमाले नेतामाथि प्रचण्डले आक्रमण गराएको ओलीको आरोपः तयारीका साथ दनक दिने चेतावनी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सरकारकै संरक्षणमा एमाले नेतामाथि आक्रमण भईरहेको आरोप लगाएका छन्। उनले पार्टीका नेता–कार्यकर्तालाई त्यस्ता आक्रमणको प्रतिवाद गर्न समेत निर्देशन दिए।

बिहीबार पार्टी मुख्यालय च्यासलमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई शपथ गराउँदै उनले कार्यकर्ताहरूको रक्षा एमाले आफैंले गर्नुपर्ने परिस्थिति आएको बताए। प्रदेश सभा सदस्य राम रानालाई इलाममा मोबिल छर्केर आगो लगाउने प्रयास गरिएको भन्दै ओलीले भने– ‘मोबिल छर्केर आगो लगाउनेसम्मको हर्कत यो राजनीति हो?

अब एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था आएको भन्दै यो सवै सरकारले गराइराखेको आरोप लगाए। ‘अव एमाले चुप लागेर बस्न सक्दैन। हाम्रा कार्यकर्ताहरूको रक्षा हामी आफैंले गर्नुपर्छ भने तयारी गर्नुपर्छ।’– उनले भने।

‘प्रचण्ड सरकारले प्रोत्साहित गरेको छ, संरक्षण गरेको छ। यसको जवाफ दिनुपर्ने बेला आइसक्योजस्तो लाग्छ,’ उनले भने, ‘अस्ति म जाँदाखेरी ढुंगामुढा गरे। तर, सरकारले केही गरेन। प्रहरीको टाउको फुट्यो, टाउको कुच्चियो। सबै हुँदा पनि प्रहरीलाई केही नगर्नु भनेको छ।’

कोशी नामकरणपछि असन्तुष्ट समूहले उदयपुरमा कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईमाथि आक्रमणको प्रयास गरेको थियो भने एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानालाई इलाममा आक्रमण प्रयास गरिएको थियो।

उदयपुर गाईघाटमा रहेको सर्पदंश उपचार केन्द्रमा पोर्टेबल भेन्टिलेटर सुरू गर्नेबारेको कार्यक्रम सकेर गाईघाट बजारतर्फ जाने क्रममा दनुवार र राई माथि आक्रमण प्रयास भएको थियो।

त्रियुगा नगरपालिकाका उपप्रमुख राईको गाडीमा क्षति भएको छ भने उपसभामुख दनुवारको गाडीको पछिल्लो भाग कुच्चिएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले केही मोटरसाइकलमा आएका व्यक्तिहरूले आक्रमण गरेको पुष्टि गरे ।

इलामबाट विराटनगर जाँदै गरेका रानाको बाटोमा मुढा तेर्स्याएर उनी चढेमा मोविल खन्याई आगो लगाउने प्रयास गरिएको थियो। रानालाई यस अघि पनि एउटा समुहलने आक्रमण गरेको थियो । उनी चढेको सरकारी गाडीमा ढुङ्गा मुडा प्रहार भएको थियो ।

पछिल्ला दिनमा पहिचानवादीले एमाले मन्त्री÷सांसद र नेतालाई आक्रमणको तारो बनाउँदै आएका छन् । 
 

विशेष