मेस्सीको जादुः एक दिनमै थपिए इन्टरमियामीका ४० लाख फलोअर
अर्जेन्टिनी फुटवल स्टार लियोनल मेस्सीले अमेरिकी फुटबल क्लब इन्टर मायामी जाने निर्णय गरपछि क्लबको इन्स्टाग्राममा फलोअर ह्वात्तै बढेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा इन्टर मायामी फुटबल क्लबको इन्स्टाग्राममा ४०० प्रतिशतले फलोअर बढेको द सनले जनाएको छ । इन्टर मायामीको इन्स्टाग्रामका फलोअर २४ घण्टामै बढेर १० लाखबाट झन्डै ५० लाख पुगेका छन् । यसअघि मेस्सीले पीएसजी छाड्ने निश्चित हुँदा पनि पीएसजीका लाखौँ फलोअर घटेका थिए ।
विश्वकप विजेता मेस्सी आफ्नो पुरानो क्लब बार्सिलोना नै फर्किन चाहन्थे । उनलाई साउदी क्लब अल–हिलालले पनि आकर्षक प्रस्ताव गरेको थियो । तर, मेस्सीले स्टार फुटबलर डेभिड ब्याकहमको लगानी रहेको अमेरिकी क्लब इन्टर मायामी जाने निधो गरेका हुन् ।
उनलाई यस क्लबबाट खेल्दा एप्पल र एडिडास कम्पनीले प्रायोजन गर्नेछन् । साथै उनले इन्टर मायामीमा लगानी पनि सुरक्षित गरेको बताइएको छ ।
पीएसजीमा २ सिजन बिताएका मेस्सीको सम्झौता फ्रेन्च क्लबसँग यही जुलाई ३ मा सकिँदैछ। तर मेस्सीले यही शनिबार अन्तिम लिग वान खेल खेलेसँगै क्लबलाई बिदाइको हात हल्लाइसकेका छन्।
३५ वर्षीय मेसीलाई साउदी अरेबियन क्लब अल–हिलालले आर्कषक प्रस्ताव गरेको थियो । तर, बार्सिलोना फर्किने चाहना राखेका मेसीको यो सम्भावना पनि वित्तीय निष्पक्ष खेल (एफएफपी) सीमाका कारण असम्भव बन्यो।
‘मैले इन्टर मियामी जाने निर्णय लिइसकेको छु।’ मेसीले बार्सिलोनामै मुख्य कार्यालय रहेको स्पेनिस अखबार मुन्डो डिर्पोटिभोलाई भनेका छन्, ‘मलाई अर्को युरोपियन टिमबाट प्रस्ताव आएको सत्य हो । तर मैले युरोपियन क्लब भए पनि त्यसबारे सोचिनँ । मेरो चाहना बार्सिलोना जानेमात्र थियो ।’
बार्सिलोनामा पूर्वफरवार्ड यस सिजन समरमा क्याटालन क्लब फर्किन उत्सुक थिए । तर, एफएफपी सीमाका कारण आगामी सिजन बार्सिलोना फर्काउन बनाइएको महत्वकांक्षी योजना असम्भव बन्यो । बार्सिलोना सन् २०२१ मा मेसीलाई क्लबमै राख्न असमर्थ भएको थियो । त्यसबेला मेसी क्लब छोड्दाको कार्यक्रममा भावविह्वल बनेका थिए । बार्सिलोना छोडेपछि मेसी पीएसजी अनुबन्धित भएका थिए ।
‘म साच्चै बार्सिलोना फर्किन चाहन्थेँ । म बार्सिलोना फर्किने सम्भावित कुराले निकै उत्साहित थिएँ’ उनले भने–‘उनीहरुले खेलाडी बेच्नुपर्ने वा पारिश्रमिक घटाउनु पर्ने सुनेँ । तर, म यो सबैबाट जान चाहन्नँ थिएँ । न त म यो सब गरेरमात्र पाएको जिम्मेवारी नै लिन चाहन्थेँ ।’
मेसीले विश्वकै उत्कृष्ट खेलाडीलाई प्रत्येक वर्ष प्रदान गरिने बालन डी’अर सातपटक जितेका छन् । र, विश्वकपको उपाधिका कारण यो वर्ष पनि बालन डी’अर जित्ने अनुमान गरिएको छ । बार्सिलोनाको ‘आइकन’ बनेका मेसीले पहिलोपटक युरोप बाहिरको लिग खेल्न लागेका हुन् ।
उनले मियामीमा एक घर किनिसकेका छन् । जुन उनले हाल भाडामा दिएका छन् । उनले पीएसजीका लागि ७५ खेलमा ३२ गोल गरे । मेसीले अन्तिम सिजन पीएसजीबाट लिग वानमा समान १६ गोल र असिस्ट गरेका थिए ।
बार्सिलोनाको कीर्तिमानी गोलकर्ता समेत रहेका मेसीले क्लबका लागि ६७२ गोल गरेका छन् । १८ वर्ष बार्सिलोनामा बिताएका मेसीले चार च्याम्पियन्स लिग, १० स्पेनिस ला लिगा र सात स्पेनिस कपको उपाधि जितेका छन् ।