सहकारीका बचतकर्तालाई ठग र दलाल भनेपछि वकिलले इजलासमै कुटाई खाए
सहकारीका वचतकर्तालाई ठग र दलाल भनेपछि सहकारी ठगी मुद्दामा पक्राउ परेका सिभिल ग्रुपका संस्थापक अध्यक्ष इच्छाराज तामाङका वकिलले अदालतको इजलासमै कुटाई खाएका छन् ।
काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासमा तामाङ विरुद्धको मुद्दाको सुनुवाइको क्रम चलिरहेको थियो। । इच्छाराजको सहकारीले ठगी गरेको प्रकरणको मुद्दाको पेशी शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा तोकिएको थियो।
अदालतमा पेशी तोकिएपछि त्यहाँ ठगिएकाहरु जम्मा भएका थिए। सुनुवाइ भइरहँदा इच्छाराजका वकिलले बोलेको कुरालाई लिएर विवाद भयो। तामाङका वकिलले बहसको क्रममा ‘सहकारीमा पैसा जम्मा गर्नेहरू पनि ठग र दलाल’ हुन् भनेपछि सिभिल सेभिङ तथा क्रेडिट को–अपरेटिभबाट ठगिएका पीडितहरू वकिलमाथि खनिएका थिए ।
अदालतभित्रै होहल्ला र लफडा भएपछि तत्कालै प्रहरी पुगेर उनीहरुलाई छुट्याएको थियो। विवाद साम्य पार्न प्रहरीलाई १५ मिनेट लाग्यो। पूर्वसांसदसमेत रहेका तामाङ उक्त ठगी प्रहरणमा जेल सजाय भोगिरहेका छन्। यो ठगी प्रकरणमा इच्छाराज २०७८ पुस २४ गते पुर्पक्षका लागि जेल चलान भएका हुन। उक्त सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उनीमाथि सीआईबीको अनुसन्धानपछि ठगी तथा संगठित अपरामा मुद्दा चलाइएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १५ सयभन्दा बढी बचतकर्ताको ५ अर्ब ६७ करोड रुपैयाँ ठगेको भन्दै त्यही बमोजिमको बिगो दाबी गर्दै तामाङसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
इच्छाराज तामाङ