चीनियाँ दबाबमा राजा महेन्द्रले मुस्ताङमा पर्मिट लगाए, महंगो पर्मिटले पर्यटक नै हराए
सीएनएन भन्छ– मुस्ताङ घुम्न जाउ, नेपाल सरकार भन्छ– विदेशी चाहीँ आउँदै नआउ
अमेरिकी समाचार संस्था सिएनएनले जारी गरेको एउटा प्रतिवेदनमा सन २०२३ मा घुम्नै पर्ने स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यका पनि परेको छ। दक्षिण एसियामा भने घुम्नै पर्ने ठाउँ मध्ये एक मात्र ठाउँको रुपमा परेको छ– मुस्ताङ।
मुस्ताङ उपत्यकालाई तिब्बतको ढोका मानिन्छ। हिमालय र भारत बीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरू मध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्धस्थानको रुपमा उल्लेख गरेको छ।
जोमसोम, मुक्तिनाथ हुँदै जाने भएकोले उपल्लो मुस्ताङ ट्रेक रुटलाई नेपालकै सबैभन्दा राम्रो ट्रेक पनि मानिन्छ । मुक्तिनाथ मन्दिरको १०८ धारा सबै भन्दा चर्चित छ । उक्त धारामा नुहाएर, पोखरीमा डुबेर मन्दिरको दर्शन गरे मुक्ति पाइन्छ भन्ने आस्था छ ।
मुस्ताङमा पाइने चौंरीको दूधबाट बनेको छुर्पी नेपालभरी नै चर्चित छ। हाम्रो देशमा मरुभूमि छैन, समुद्र पनि छैन, एकदमै कम मात्रामा वर्षा हुने भएकोले मुस्ताङलाई नेपालको मरुभूमि पनि भन्ने गरिन्छ ।
मुस्ताङ धेरै पर्यटकका लागि एउटा सुन्दर गन्तव्य हो । अन्नपूर्ण हिमालयन रेन्जहरू अनी धौलागिरी हिमालको मनमोहक दृश्यले यहाँको भ्रमणलाई अझै अबिस्मरणिय बनाउछ।
यहाँको अनौठो भूबनोट, तिब्बती जीवनशैली, रहनसहन, संस्कृति, धार्मिक सम्पदा, प्राकृतिक संरचना आदि मुस्ताङका आकर्षण हुन् । शताब्दीऔं पुरानो गुम्बा, स्तुपाहरूले अपर मुस्ताङलाई झनै घुम्न लायक बनाउँछ ।
लोमान्थाङ मुस्ताङ जिल्लाको राजधानी हो । जुन अपर मुस्ताङको मुख्य शहर पनि हो। लोमान्थाङमा परम्परागत तिब्बती संस्कृति र जीवनशैलीको अबलोकन गर्न सकिन्छ । सयौं वर्ष पुराना गुम्बा, संग्रहालयहरू, पूर्वराजाको दरबार, आदि लोमान्थाङका आकर्षण हुन् । चोदे, झम्पा, र थुप्चेन गुम्बा लोमान्थाङका मुख्य गुम्बाहरु हुन् ।
चार हजार मिटरको उचाइमा रहेको छोसेरमा लो–निफु गुम्बा र लो–गुर्फु गुम्बा गरी दुई वटा गुम्बाहरू छन् । त्यस्तै, सिजा झोङ गुफा अर्को आकर्षणको बिन्दु हो । चार तला रहेको सो गुफामा चारै तलामा चढेर गुफा हेर्न सकिन्छ । जुन गुफामा प्राचीनकालमा मानिसहरु बस्थे । मानिस बस्ने कोठाहरू देख्न सकिन्छ भने भित्ताहरूमा ध्वाँसो लागेको पनि देखिन्छ ।
तीन दिनसम्म मनाइले तिजि पर्व लोमान्थाङ उपल्लो मुस्ताङ ट्रेकको अर्को आकर्षण हो। सांस्कृतिक पर्व तिजीमा रमाउन विदेशी पर्यटकहरु मरिहत्ते गर्छन। विदेशी पर्यटकलाई स्थानीय पहिरनमा सजाएर नाचगान गराउने भएकाले उनीहरु उत्साहित हुने गर्दछन । तिजीमा आपसी स्नेह साटासाट गर्नुको साथसाथै, विश्वशान्ति र दैवीप्रकोप कम होस् भन्ने कामना गरिन्छ ।
पर्मिटको ब्यवस्थाले विदेशी पर्यटक हतोत्साहित
०१६ चैतमा तिब्बतबाट दलाई लामा भारत पलायन भएपछि हजारौं तिब्बतियन नेपाल पसे। चीनियाँ सेना र तत्कालीन चीन विरोधी सशस्त्र डफ्फाहरुबीच तिब्बतका ठाउँठाउँमा भिडन्त हुन थाल्यो। भारत र पश्चिमा शक्तिको सहयोगमा तिब्बत निर्वासित सरकार गठन भयो । त्यसको सैन्य दस्ताका रुपमा सशस्त्र खम्पाहरु भारतीय बाटो हुँदै नेपालका उत्तरी क्षेत्रमा पसे।
नेपालको मुस्ताङ, ताप्लेजुङ, हुम्ला लगायतका स्थानमा वसेर खम्पाले तिब्बतमा चिनियाँ सेनामाथि आक्रमण गर्न थाले । त्यसले हिमाली क्षेत्रमा अन्योलको अवस्था सिर्जना भयो। सशस्त्र खम्पाकै कारण तत्कालीन राजा महेन्द्रले ०२८ सालमा मुस्ताङका तीन दर्जनभन्दा बढी स्थानसहित उत्तरी क्षेत्रका विभिन्न स्थानलाई संवेदनशील क्षेत्र घोषणा गर्दै विदेशीका लागि निषेध गरे। यो ब्यवस्था चीनको दबाबमा सुरु भएको मानिन्छ।
सरकारले सन् १९९२ मा मुस्ताङ यात्रा विदेशीका लागि खुल्ला गरेको छ। तर, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नं. ३ र ५, लोमन्थाङ गाउँपालिकाको वडा नं. १ र ५ तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नं. १ र ५ अहिले पनि निषेधित क्षेत्रमा पर्छन ।
ती क्षेत्रमा ट्रेकिङमा जान विदेशीले छुट्टै स्वीकृति लिनुपर्छ र नेपाली गाइडका साथमा मात्र जान पाउँछन । त्यसका लागि अध्यागमन विभागले पर्मिट जारी गर्छ। जसमा पहिलो १० दिनका लागि प्रति व्यक्ति ५ सय अमेरिकी डलर लाग्ने र १० दिनपछि प्रति दिनका लागि ५० अमेरिकी डलर तिर्नुपर्छ। केही समय अघिसम्म १० दिनका लागि ७०० डलर तिर्नु पर्ने ब्यवस्था थियो। यस्ता क्षेत्रमा व्यक्तिलाई अनुमति नदिई समूहलाई मात्र दिने गरिएको छ।
मुस्ताङका अन्य कतिपय क्षेत्रका लागि भने १ सातासम्मको अनुमतिपत्र जारी गरी प्रतिव्यक्ति (सिजनमा) ९० अमेरिकी डलर र ‘लो’ सिजनमा ७० अमेरिकी डलर लिने गरिएको छ। यो ब्यवस्थाले अहिले पनि विदेशी पर्यटकहरु मुस्ताङ घुम्नबाट वन्चित हुने गरेका छन्।
५०० डलर तिर्नु पर्ने, गाईड हुनै पर्ने र /५ दिनका लागि पनि १० दिनकै पर्मिट लिनु पर्ने बाध्यकारी ब्यवस्थाका कारण यो सर्त मान्न नचाहने विदेशी पर्यटक अहिले पनि मुस्ताङ पुग्दैनन्। नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समितिले ०७६ सालमै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अध्यागमनले १० दिनका लागि असुल्दै आएको पाँच सय डलर अति नै महँगो भएकाले घटाउन आग्रह गरेको थियो।
शुल्क महँगो भएकै कारण ती क्षेत्रमा कम पर्यटक जाने गरेकाले स्थानीय बासिन्दाले पर्यटकमार्फत् प्राप्त गर्ने अपेक्षित लाभ नपाएको सुझाव समेत दिईएको थियो। न्यून शुल्कका कारण विदेशीलाई पदयात्रा गर्न प्रोत्साहन पुग्न गई राजस्वमा समेत वृद्धि हुने भएकाले परमिट शुल्कमाथि पुनरवलोकन गर्न स्थानीयवासीले समेत माग गरेका छन्।
लोमनथाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले पनि पर्मिट शुल्क महंगो भएकाले घटान आवश्यक रहेको वताए। उनले यसअघि पनि पटक पटक सम्वन्धित निकायमा पहल भएपनि सफल हुन नसकेको वताए।
यो पनि,
- हतियार लिएर चीनीयाँहरु सीमामा आउछन, आतंक मच्चाउँछन
- आन्तरिक मामिलामा चीनको हस्तक्षेपले मुस्ताङमा नेपाली–नेपालीमै बैमनस्यता