News विदेश

चीनले खन्दैछ सगरमाथा डुबाउने खाडल, यस्तो छ योजना !

चीनले खन्दैछ सगरमाथा डुबाउने खाडल, यस्तो छ योजना !

एसियाको महाशक्ति राष्ट्र बन्ने दिशामा अघि वढिरहेको छिमेकी राष्ट्र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथालाई चुर्लुम्म डुवाउन सक्ने क्षमताको खाडल खन्न थालेको छ। बीबीसीका अनुसार यो खाडल ११ हजार मिटर गहिराईको हुनेछ।

आफ्नो उत्तरपश्चिम राज्य सिंकयांगस्थित तकलामकान मरुभूमिमा गत हप्तादेखि यो खाडल खन्न सुरु भएको हो। यो योजनालाई चीनमा उत्खननको सबैभन्दा ठूलो परियोजनाको रुपमा मानिएको छ। यसअघि चीनमा यस प्रकारको सबैभन्दा गहिरो खाडलको गहिराई १० किलोमिटर थियो।

तर, पनि चीनले खन्ने यो खाडलले पृथ्वीमा मानिसले बनाएको सबैभन्दा गहिरो खाडलको किर्तिमान भने बनाउन सक्नेछैन। किनकि विश्वको सबैभन्दा गहिरो मानव निर्मित खाडल रुसमा छ। ‘कोला’ नामक उक्त रुसी खाडलको गहिराई १२ हजार २ सय ६२ मिटर छ। सन् १९८९ मा उत्खनन सकिएको उक्त खाडल लगातार २ दशकसम्म खनेर रोकिएको थियो।

११ हजार मिटरभन्दा गहिरो खाडल खन्ने यो परियोजना ४ सय ५७ दिनमा पूरा गर्ने योजना छ। यो परियोजनाको नेतृत्व चीनको सरकारी स्वामित्वको पेट्रो केमिकल कर्पोरेसन सिनोप्याकले गरिरहेको छ। हालै सिनोप्याकले भूगर्भीय खोजमा गहिराईको सीमालाई बढाउने आफ्नो लक्ष्यको घोषणा गरेको छ।

चिनिया राष्ट्रपति शि जिनपिङले झण्डै २ वर्षअघि देशका वैज्ञानिकहरुलाई जमिनको सर्वाधिक गहिराईमा रहेका संसाधनहरुको खोजी गर्ने कामलाई अघि बढाउन निर्देशन दिएका थिए। राष्ट्रपति शिको सोही निर्देशन अनुसार यो काम सुरु भएको वताईएको छ।

यो खाडल खन्नुका दुईवटा उद्देश्य छन्। पहिलो– वैज्ञानिक शोध र दोश्रो– तेल तथा ग्यासको खोजी। विशाल खाडल खन्ने सो परियोजनाले पेट्रो चाइनाको प्राविधिक क्षमता सुदृढ तथा ससक्त बनाउने प्रयासमा सहयोग गर्ने विश्वास गरिएको छ।

तकलामकान मरुभूमिमा ११ हजार मिटर गहिरो खाडल खन्नु निकै चुनौतिपूर्ण काम हो। किनकि मरुभूमिको सतहको बनावट, अत्यधिक तापक्रम तथा उच्च दबाब जस्ता कारणले गर्दा त्यति गहिरो खाडल खन्ने क्रममा धेरै प्राविधिक चुनौति आउनसक्ने विज्ञहरुको ठम्याई छ।

तकलामकान मरुभूमिको विषम हावापानी अर्को चुनौतीको रुपमा रहनेछ। त्यहाँ जाडो याममा तापक्रम माइनस २० डिग्री सेल्सियससम्म र गर्मी याममा ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। 

चीन सगरमाथा खाडल

विशेष