गर्लफ्रेन्डलाई फोन गरेको रिसमा एक युवकले ३ जनालाई छप्काए !

ललितपुरमा केटीको विषयमा विवाद हुँदा तीन जनामाथि खुकुरी प्रहार भएको छ। आक्रमणमा संलग्न ९ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बर्दिया मधुवन नगरपालिका–२ का सुनिल थारू, कोञ्ज्योसोम गाउँपालिकाका सुजेन लामा र रशेम लामा माथि खुकुरी प्रहार गरेर घाईते बनाएको आरोपमा महाँकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतान पक्राउ परेका छन्।
प्रहरीका अनुसार घटना सोमबार राति करिव १० बजे भएको हो। महाँकाल गाउँपालिका–३ जप्कामा बस्ने तीन जना कामदारहरूमाथि ९ जनाको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको आरोप छ। उनीहरू सडक निर्माणको काम भइरहेकाले गोटिखेलमा पाल टाँगेर बसिरहेका थिए।
खुकुरी प्रहार गर्ने समूहका एक युवककी गर्लफ्रेन्डको नम्बर तीन जना मध्येका एक घाइते पुरूषले पाएका थिए। त्यो नम्वरमा उनले फोन गरे। तर, फोन गर्दा केटाले उठाएपछि केटीलाई फोन दिनू भने। त्यसपछि खुकुरी प्रहार गर्ने पक्षका युवकले ‘मेरो गर्लफ्रेन्डलाई किन फोन गरिस्?’ भनेर विवाद झगडा गरे।
त्यसपछि उनले समुह नै लगेर तीन जना युवकमाथि आक्रमण गरेको जनाईएको छ। प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा ललितपुर जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर म्याद थप गरी अनुसन्धान गर्न अनुमति पाएको छ।
घाइतेहरुलाई लेलेस्थित आनन्दवन अस्पतालमा प्राथमिक उपचार गराई पाटन अस्पताल हुँदै त्रिवि शिक्षण अस्पतालमा पु¥याइएको छ। उनीहरू खतरामुक्त भएको प्रहरीले जनाएको छ।