News

टोपबहादुरका वकिलद्वारा शरणार्थी नेता रिजाललाई ‘पागल’ पुष्टि गर्ने प्रयास

‘रिजालको बयान पत्याउनु हुँदैन, उनको दिमागी अवस्था ठिक छैन’

टोपबहादुरका वकिलद्वारा शरणार्थी नेता रिजाललाई ‘पागल’ पुष्टि गर्ने प्रयास

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको पक्षमा जिल्ला अदालत काठमाडौंमा बुधबारदेखि प्रतिरक्षा बहस जारी छ। शुक्रबार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको पक्षमा बहस भइरहेको छ।

उनको प्रतिरक्षामा गर्ने क्रममा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई घुमाउरो पारामा ‘पागल’ भएको पुष्टि गर्ने प्रयास गरेका छन्। रिजालले बयानका क्रममा टोपबहादुर र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नाम लिएका छन्।

वडालले भुटानी शरणार्थी नेता रिजालको स्वास्थ्य अवस्थाका विषयमा प्रश्न उठाए। रिजालले यसअघि सरकारी वकिललाई दिएको बयानमा रायमाझीले नक्कली शरणार्थी बनाउन खटिएका बिचौलियासहित आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग उनको खुमलटारस्थित निवासमै लगेर भेटाएको उल्लेख गरेका थिए। 

भेटका दाहालले टोपबहादुरमार्फत सबै काम हुने बताएको बयान पनि दिएका थिए। दाहालको त्यो भनाईपछि अरु काम सरासर भएको र सरकारले आफूलाई दिने गरेको मासिक सुविधा पनि पाएको बयान दिएका छन् ।

उनको बयानलाई गलत सावित गर्ने क्रममा बडालले भने–‘यो अनुसन्धानका क्रममा यस्ता कयौँ तथ्य अभियोगपत्रमै गलत छन। टेकनाथ रिजालले आफूले लेखेको किताबमा भुटानको जेलमा बस्दा मेरो माइन्ड कन्ट्रोल गरिएको भनेका छन्’ बडालले भने–‘उनले किताबमै मैले जे भन्न खोजिरहेको हुन्छु, त्यो मैले भन्न सकिरहेको हुन्न भनेका छन्। मेरो कुरा अरु कसैले भनिरहेको छ भनेर लेखेका छन्। टेकनाथ रिजालको बयान पत्याउनु हुँदैन। उनी आफैंले भुटानमा दिइएको यातनाको असर अहिले पनि देखिएको छ भनेका छन्।’

बडालले घुमाउरो पारामा रिजालको दिमागी अवस्था अहिले पनि ठीक नभएको र अरु कसैको नियन्त्रणमा रहेको उल्लेख गरे। ‘बयानमा पोल्दैमा टोपबहादुरलाई अभियुक्त भन्न मिल्दैन। यसमा जियो पोलिटिक्सको कुरा पनि जोडिन्छ, त्यो कुरा उहाँमार्फत त्यो पनि भइरहेको छ’, उनले भने।

टोपबहादुर रायमाझी भुटानी शरणार्थी रमेश बडाल टेकनाथ रिजाल

विशेष