News

सहकारीका बचतकर्ता डुवाएर भारत र म्यानमारमा कम्पनी चलाउँदै थिए केदारनाथ

सहकारीका बचतकर्ता डुवाएर भारत र म्यानमारमा कम्पनी चलाउँदै थिए केदारनाथ

बचतकर्ताको १४ अर्वभन्दा वढि अपचलन गरेको आरोप लागेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालनक केदारनाथ शर्माले ६ वटा बैंकबाट करिब पाँच अर्ब ऋण लिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

शिवशिखरले हिमालयन, नेपाल एसबीआई, नबिल, प्रभु, माछापुच्छ्रे र तत्कालीन मेगा बैंकबाट पाँच अर्बको हाराहारीमा ऋण लिएको पाइएको हो । निवर्तमान अध्यक्ष केदारनाथ शर्माले बयानका क्रममा यी बैंकबाट सहकारीमार्फत ऋण लिएको बताएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार अहिले यो विषय अध्ययनको क्रममा छ। थप विवरण बैंकबाट झिकाउन नेपाल राष्ट्र बैंकलाई पत्र लेखिएको सीआईबीका प्रवक्ता सञ्जयसिंह थापाले बताए ।

शर्माले बचतकर्ता र बैंकको ऋणसमेत जोखिममा पारेपछि उनीमाथि अनुसन्धान भइरहेको छ । बैंकले शर्मासँग मिलेर धितो नलिएर ऋण दिएको फेला परे ऋण स्वीकृत गर्ने अधिकारीदेखि बैंकका सीईओमाथि पनि अनुसन्धान हुने बताइएको छ ।

शिवशिखरका सञ्चालकहरू गीता शर्मा, पुष्कर मल्ल र अमिस राजभण्डारीलाई पनि सीआईबीले पक्राउ गरिसकेको छ । निवर्तमान अध्यक्ष शर्माले मोरङमा तुलसी बहुमुखी सहकारी संस्था पनि खोलेर कारोबार गरेका थिए । दुई सहकारीको नामबाट १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ ठगी गरेको आरोपमा असार ११ गते शर्मा पक्राउ गरेका थिए ।

शर्माले उनकी श्रीमती गीताको नाममा नौवटासहित ३० वटा कम्पनी खोलेका छन् । शिवशिखरले लगानी गरेका ४३ कम्पनीमध्ये बाँकीमा पनि शर्माको सेयर स्वामित्व छ । 

शर्माले ६ अर्ब रुपैयाँ भारत र म्यानमार पु¥याएको पाइएको छ । ६ अर्ब २५ करोड भने नेपालमै रहेका आफ्ना विभिन्न कम्पनीमा लगानी गरेका छन् । उनको कम्पनीले भारत र म्यानमारबाट कृषि उपज तथा मेसिनरीहरू आयात गर्दै आएका थिए । आयात हुने वस्तुको खरिद मूल्य वास्तविकभन्दा अत्यधिक देखाई पूँजी पलायन गराएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

शर्माले म्यानमारको यांगुनमा न्यू गोल्डेन एभरेष्ट नामको कम्पनी दर्ता गरेका छन्, जसले दाल तथा दालको गेडा शिखर अर्गनाइजेसनलाई पठाउने गरेको छ । भारतमा नेपाशिखर अर्गनाइजेसन इन्डिया लिमिटेड दर्ता छ । यो कम्पनी भारतको कर्पोरेट अफेयर्स मन्त्रालयअन्तर्गत विदेशी कम्पनीको सब्सिडियरी कम्पनीका रुपमा दर्ता भएको र नेपालमा शिखर अर्गनाइजेसनकै सब्सिडियरी कम्पनीको रुपमा भारतमा कम्पनी खोलेको जनाईएको छ।

दिल्ली बाहेक सन् २०१७ मा राजस्थानमा दर्ता भएको यो कम्पनीले हाल उत्तर प्रदेशको लखनउबाट कारोबार गरिरहेको छ। दुवै कम्पनीको सञ्चालक केदारनाथ र उनकी श्रीमती गीता शर्मा छन् । साथै, अन्य दुई भारतीय नागरिकहरू अरबिन्द कुमार र सागर मोदी पनि सञ्चालक छन् ।

नेपालको कानुनअनुसार कुनै पनि नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउँदैन । तर, शर्माले शिवशिखर सहकारीको बचतकर्ताको रकम अपचलन गरी विदेशमा पु¥याएर निजी कम्पनी सञ्चालन गरिरहेको भेटिएको छ ।
शर्माले देशभरका शाखा कार्यालयमा जम्मा भएको रकम केन्द्रीय कार्यालयमा सार्ने गरेका थिए। त्यो रकम शर्माले सञ्चालक समितिको निर्णय र कुनै प्रक्रियाविनै आफ्ना कम्पनीमा सार्ने गरेको पनि अनुशन्धानबाट खुलेको छ। 

सबै रकम शिखर अर्गनाइजेसनका नाममा लैजाने, तर सावाँब्याज फिर्ता नगर्ने गरेका कारण सहकारीमा तरलताको समस्या भई बचतकर्ताको सावाँब्याज फिर्ता गर्न नसकेको सहकारीका अर्का सञ्चालक पुष्कर मल्लले बयान दिएका छन् ।

सीआईबीको अनुसन्धानले पनि सहकारीको देशभरका शाखाबाट संकलन भएको रकम आफ्नो कम्पनीमा सारेर कम्तीमा ६ अर्ब २५ करोड रुपैयाँ अपचलन गरेको देखाएको छ । 

शिवशिखर सहकारीमा नरहेकी शर्माकी श्रीमती गीता शर्माको प्रभु बैंकको खातामा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र अन्य कम्पनीहरूबाट उनको तलवबाहेक ८ करोड ७७ लाख ७० हजार रुपैयाँ जम्मा भएको देखिएको सिआईबीले जनाएको छ।

यस्तै पुष्कर मल्लको प्रभु बैंकमा रहेकोे खातामा ८९ लाख १३ हजार रुपैयाँ, केदारनाथको प्रभु बैंकको खातामा सहकारी संस्था र शिखर अर्गनाइजेसनमा रहेका कम्पनीहरूबाट ६५ करोड ४२ लाख ७५ हजार रुपैयाँ ट्रान्सफर भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। 

विशेष