प्रचण्ड प्रधानमन्त्री भएको थाहै नपाई वितिन सीता, आमा छोराको निधन एकै ठाउँमा
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नि सीता दाहालको ६९ वर्षको उमेरमा बुधवार निधन भएको छ। हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना गरिएकी सीताको उपचारकै क्रममा विहान करिव ८ वजे निधन भएको हो।
जेठी छोरी ज्ञानु र छोरा प्रकाश गुमाएको पीडाले गलेकी सीता जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित थिईन। दुःखद संयोग नै भन्नुपर्छ ६ वर्षअघि अर्थात् २०७४ मंसिर ३ गते एकमात्र छोरा प्रकाश दाहाल मृत्यु घोषणा गरिएको अस्पतालमै सीताले पनि देह त्याग गरिन।
सीता र प्रकाशको निधनको भएको अस्पतालले पुष्टि गरेको समय पनि लगभग उस्तै छ। पुत्र वियोगपछि विक्षिप्त बनेकी सीता त्यसपछि कहिल्यै पनि स्वस्थ हुन सकिनन्। प्रधानमन्त्री दाहालका लागि यो तेस्रो बज्रपात हो । १० वर्षअघि २०७० चैत १३ गते जेठी छोरी ज्ञानुको क्यान्सरबाट निधन भएको थियो ।
१० वर्षको अन्तरालमा आफ्नो जीवनका ३ प्रिय मान्छेलाई दाहालले गुमाएका छन्। सीताको उपचारका लागि दाहालले कुनै कसरी बाँकी राखेनन्। सुविधा सम्पन्न अस्पताल, रामदेवको योगा, तातो पानी कुण्डलगायत भएजती सवै उपाय खोजे। तर, ०७९ मंसिर १९ गते अचेत भएर ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार गरेयता उनको चेत फर्केको छैन।
दाहाल प्रधानमन्त्री बनेसँगै बालुवाटार सारिएकी सीताको निरन्तर औषधी उपचार हुँदै आएको थियो। प्रधानमन्त्री निवास बालुवाटारको एक कोठामा उनलाई राखिएको थियो। एक जना नर्सले उनको हेरचाह गरिरहेकी थिइन्।
अर्थचेत अवस्थामा रहेकी उनले पछिल्लो गतिविधिका विषयमा जानकारी नपाएको माओवादी नेताहरु वताउँछन्। छोरा प्रकाश दाहालको असामयीक निधनपछि उनलाई झन् रोगले च्यापेको थियो।
पछिल्लोपटक दाहाल २०७९ पुस १० गते तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए । तर, सीताले दाहाल प्रधानमन्त्री बनेको थाहै नपाइ बितिन् ।
त्यसो त दाहाल यसअघि २०६५ साउन ३१–२०६६ जेठ ११ मा पहिलोपटक र २०७३ साउन २०–२०७४ जेठ २४ मा दोस्रोपटक देशका प्रधानमन्त्री रहिसकेका थिए । त्यसबेला भने सीता दह्रै थिइन्, उनी दाहालको साथै थिईन। तेस्रोपटक प्रधानमन्त्री बनेको भने थाहा नै नपाई सीता वितेको माओवादीका नेताहरु वताउँछन्।
सीता दाहाल प्रकाश दाहाल