विवेकशिल साझाले यस कारण नेपालको नक्सामा समेट्यो तिब्बतको मानसरोवर

विवेकशिल साझाले यस कारण नेपालको नक्सामा समेट्यो तिब्बतको मानसरोवर

भारतले पाकिस्तान र नेपालका केही ठाउँहरुलाई समावेश गरिएको म्युरल नक्शा आफनो नयाँ संसद भवनमा राखेपछि नेपालमा पनि त्यसले निकै चर्चा पायो। 

भारतलाई काउण्टर दिन भन्दै काठमाण्डौ महानगरका मेयर बालेन्द्र साहले ग्रेटर नेपालको नक्शा आफ्नो कार्यकक्षमा राखे। त्यसपछि बालेन्द्रको पनि विरोध भयो। ग्रेटर नेपाल भनिएको नक्सामा भारततर्फ नेपालले गुमाएको भाग मात्रै समावेश भएको र चीनतर्फको भुभाग नसमेटिएको प्रतिक्रिया आए।

उत्तरतर्फ पनि नेपालले ठुलो भुभाग गुमाएको भन्दै चीनको षडयन्त्रपुर्ण कदमले नेपालले गुमाएको त्यो भुभागलाई ग्रेटर नेपालको नक्सामा समावेश गर्नु पर्ने आवाज उठ्यो। प्रतिनिधि सभा सदस्य एवम् राप्रपाका नेता ज्ञानेन्द्र शाहीले उत्तरमा नेपालको सीमाना मानसरोवरसम्म रहेको दावी गरेपछि मानोसरभर हुँदै सुरु हुने ब्रम्हपुत्र नदी नै नेपालको सीमाना रहेको दावी प्रस्तुत भए।

पुर्वमा टिष्टा, पश्चिममा कांगडा, उत्तरमा मानसरोवर र दक्षिणमा गंगानदीसम्मको भुभाग ग्रेटर नेपालमा समेटिनु पर्ने धरैको मत थियो। यीनै टिप्पणी र प्रतिक्रियाहरुपछि विवेकशील साझा पार्टीले ‘गौरवमय सांस्कृतिक मानचित्र’ भनेर नेपालको ऐतिहासिक भूभाग सहितको नक्सा सार्वजनिक गरेको छ।

असार १५ गते ललितपुरको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा उक्त नक्सा सार्वजनिक गरिएको हो। नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियान समेत चलाइने घोषणा गरेको विवेकशील साझाले सुगौली सन्धी अगाडिको नेपालको भूभाग र वर्तमान भूभागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरलाई समेटेर मानचित्र तयार पारेको छ।

यसमा चीनको तिब्बतमा रहेको मानसरोवर, सिगात्सेको तासिहुम्पो गुम्बा, माउन्ट एभ्ररेष्टभन्दा उत्तरतर्फको केही भूभाग पनि समेटिएको छ। यी सबै भूभाग अहिलेको तिब्बतमा पर्दछन्। भारततर्फको उत्तराखण्ड, हिमाचल, सिक्किम, दार्जीलिङ र बिहारका कतिपय भूभाग पनि सांस्कृतिक नक्सामा समेटिएका छन्। 

विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले यो नक्सा राजनीतिक नभई सांस्कृतिक मात्र भएको बताए।  ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र गहिरो अनुसन्धानपछि सार्वजनिक गरिएको उनको भनाई छ।

उनले इतिहासमा नेपालले जहाँसम्म सैन्य विजय हासिल गरेको थियो, त्यहाँसम्मको भूभाग समेटिएको बताए।

विवेकशिल साझा पार्टी म्युरल

संम्बधित खबर

विशेष