News

हृदयघात भएर प्रचण्ड पत्नी सीता दाहालको निधन

हृदयघात भएर प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । 

६९ वर्षकी सीता लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित थिईन। सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माका अनुसार सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएको थियो।

उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको डा. शर्माले जनाएका छन् । उनको  निधनपछि नर्भिक अस्पतालमा परिसरमा नेतादेखि कार्यकर्तासम्मको भिड लागेको छ ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत अस्पताल पुगेका छन् । उनीहरुले प्रधानमन्त्री दाहाललाई भेटेर समवेदना प्रकट गरेका छन् ।

छोरी रेणु दाहाल सहितका परिवारका सदस्यहरु, माओवादी केन्द्रका नेता अग्नि सापकोटा लगायतका नेताहरु, शुभेच्छुकहरु र पार्टीका कार्यकर्ताहरु पनि अस्पताल पुगेका छन् । समाचार संकलनका लागि पुगेका पत्रकारहरुको पनि अस्पतालमा उल्लेख्य उपस्थिति छ ।

उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । 
 

विशेष