News

एमाले नेतृले कस्को इशारामा हटाईन नेपालको नक्साबाट ओलीका क्षेत्र ?

एमाले नेतृले कस्को इशारामा हटाईन नेपालको नक्साबाट ओलीका क्षेत्र ?

राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समितिले नेकपा एमालेकी नेतृ रेखा झालाई कारबाही गर्न माग गरेको छ। नेपाललाई ब्रिटिस साम्राज्यको अंग देखाउने तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान नेपालको नक्साबाट गायव गरेको भन्दै उनलाई कारवाही गर्न माग गरिएको हो।

झाले आफ्नो आधिकारिक फेसबुक खाताबाट नेपाललाई ब्रिटिश साम्राज्यको हिस्साको रूपमा झूटो चित्रण गर्न शेयर गरेको नक्सालाई तुरुन्तै हटाई माफी माग्न पनि अभियानले आग्रह गरेको छ। सम्मेलन आयोजक समिति संयोजक विनय यादवद्वारा वुधवार जारी विज्ञप्तिमा भनिएको छ–‘नेपाल कुनै पनि साम्राज्यको दासत्व कहिल्यै स्वीकार नगरेको एक मात्र अविच्छिन, स्वतन्त्र, प्राचीन देश भएकोले आफ्नै समृद्ध र गौरवशाली इतिहास छ । हाम्रा हिन्दू पुर्खाहरूले नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्न वीरतापूर्वक पुस्तौंदेखी रगत बगाउदै आएका छन् । नेपालको स्वाधीनतामा आँच पुर्याउने गलत सूचना प्रचार गर्नु हाम्रा पूर्वजहरुको बलिदानको अपमान हो।’ 

विज्ञप्तिमा सन् १७९२ मा लर्ड कर्नवालिसको पालामा नेपाल ब्रिटिस साम्राज्यको एक हिस्सा रहेको देखाउने एमाले पूर्वसांसद झाले शेयर गरेको नक्सा ऐतिहासिक तथ्यको नियोजित तोडमडोेठ भएको बताइएको छ। 

‘त्यस नक्सा मार्फत पूर्वप्रधानमन्त्री सम्मानीय केपी शर्मा ओलीकै पुख्र्यौली बसोवास रहेको ‘कोशी क्षेत्र’ नै नेपालको भाग नरहेको प्रस्तुत गरी हाम्रो देशको सिमाना नै बिगार्ने प्रयत्न गरिएको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ–‘यस्ता भ्रामक राष्ट्रघाती कार्यहरूले हाम्रो इतिहासलाई धोका दिने मात्र होइन, सम्माननीय ओलीज्युको राष्ट्रिय अखण्डताप्रतिको अटल अडानलाई समेत कमजोर तुत्याउँछ ।’ 

झाको देशद्रोही कार्यको लागि तुरुन्त माफी मागी नेपालको गौरवशाली इतिहासलाई कलंकित गर्ने कार्य कुन शक्तिको ईशारा गरेको हो भन्ने प्रष्ट पार्न अभियानले आग्रह गरेको छ। यो विषयलाई गम्भीरतापूर्वक लिएर झामाथि कारबाही गर्न पनि एमाले अध्यक्ष ओलीलाई आग्रह गरिएको छ। 
 

रेखा झा

विशेष