News

सिरहामा यातना पाउने प्रहरीको हर्कतः वर्दीमै मदिरा चोरीदेखि साथीकै राईफल खोस्नेसम्म

सिरहामा यातना पाउने प्रहरीको हर्कतः वर्दीमै मदिरा चोरीदेखि साथीकै राईफल खोस्नेसम्म

सिरहामा इन्स्पेक्टरद्वारा पाता फर्काएर यातना दिईएका प्रहरी जवान अनु राय (अन्नुकुमार राय) अनुशासन विपरित काम गर्ने तथा वर्दीमै चोरी गर्ने गरेका कारण पटक पटक कारवाहीमा पर्ने गरेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत रायलाई पछाडि हात बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएपछि यो विषय पनि बाहिर आएको हो। भिडियो सार्वजनिक भए लगत्तै अनुको पक्षमा सञ्जाल तातेको थियो भने कुटपिट गर्ने इन्स्पेक्टर हेमन्त राईको आलोचना भएको थियो।

मधेश प्रदेश प्रहरी कार्यालयले बुधवार नै यो विषय छानविन गर्न ५ सदस्यीय टोलीसमेत बनाएको छ । तर, राय अनुशासनविपरीतका काम गरेका कारण ग्रेड घटुवामा समेत परेको खुलेको छ। यस पटक पनि उनीमाथि मादक पदार्थ सेवन गर झगडा गरेको र कुटाकुट गरेको आरोप छ।

दुई वर्ष अगाडि बर्दीमै मदिरा चोरी गर्दा उनी निलम्बनमा परेका थिए । ०७८ जेठ ९ गते लहान नगरपालिका २२ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलमा केही व्यक्ति मदिरा खाएर होहल्ला गरिरहेका थिए । उनीहरूलाई नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय लहानबाट तीनजना प्रहरी खटिए।

प्रहरी पुगेपछि हल्ला गर्नेसहित पसल सञ्चालक समेत भागे । कोही नदेखेपछि रायले पसलमा राखेका भोड्काका बोतल उठाएर हिडेको पाईएको थियो। अनुसन्धानपछि उनलाई ०७८ जेष्ठ १६ गते निलम्वन गरिएको थियो भने ०७८ साउन ७ मा २ ग्रेड घटुवासहित निलम्बन फुकुवा गरियो । त्यसको चार महिना नबित्दै उनले ०७८ कात्तिक ५ मा पहिलोपटक नसिहत पाएका थिए ।

अहिले फेरी उनीमाथि अनुशासन तोडेकै आरोप छ। सिरहाका एसपी टेकुनन्द इवा लिम्बूका अनुसार प्रहरी जवान राय ०८० असार २५ गते साँझ कमाण्डरलाई नभनी व्यारेक छोडेर हिडेका थिए। मादक पदार्थ सेवन गरेर फर्केका उनले हवल्दार धर्मदेव यादवसँग विवाद गरेर हातपात गरे।

अरुले सम्झाउन र नियन्त्रणमा लिन खोजेपछि मोवाइल ड्यूटीमा रहेका प्रहरी जवान मिथिलेशकुमार यादवले बोकेको राइफलसमेत खोस्ने प्रयास गरेको रिपोर्प जिल्ला जिल्ला प्रहरी कार्यालयले तयार पारेको छ। त्यसपछि उनलाई नियन्त्रणमा लिएर हतकडी लाईएको जनाईएको छ।

यो पनि,

विशेष