भारतले चन्द्रमामा पठायो रकेटः अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्ने
भारतले शुक्रबार चन्द्रमाका लागि चन्द्रयान– ३ पठाएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो २ः३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान–३ रकेट टेकअफ भएको हो।
यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्ने जनाईएको छ। चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ।
यसअघि संयुक्त राज्य अमेरिका, रूस र चीनले मात्र आफ्नो यान चन्द्रमामा पु¥याउन सकेका छन्। भारतले चन्द्रमाका लागि यान पठाएको यो तेस्रो पटक हो। सन् २००८ मा भारतले चन्द्रयान–१ पठाएको थियो तर त्यो चन्द्रमाको सतहमा अवतरण भएन।
सन् २०१९ मा भारतले पठाएको चन्द्रयान–२ पनि चन्द्रमामा अवतरण हुन असफल भयो। अवतरण हुन लाग्दा त्यसको रोभर दुर्घटनामा परेको थियो। चन्द्रयान–३ मा ल्यान्डर, रोभर र तीनवटा प्रोपल्सन मोड्युल छन्। यसको कुल वजन ३ हजार ९ सय किलोग्राम रहेको छ।
यस मिसनमा चन्द्रयानको रोभर (सानो रोबोट) निस्कनेछ जसले चन्द्रमाको सतहमा अवतरण गर्नेछ र यसको पोजिशनिङ चन्द्रमाको दक्षिण ध्रुवमा हुनेछ। यहीँ रोभरले चन्द्रमाको यस भागमा के खनिज, पानी आदि पाइन्छ भन्ने पत्ता लगाउने बताइएको छ।