लाजै नभएका सांसद, राष्ट्रिय सभाका सदस्यले सांसद पदकै हुर्मत लिएपछि...
के बोल्दैछु भन्ने थाहा नपाउने सांसद, के विधेयक ल्याएँ भन्ने ठेगान नभएका मन्त्री
नेपालमा अधिकांश सांसदहरु सदनमा बोल्नकै लागि बोल्छन्। कोही चर्चामा आउन बोल्छन्, कोही बोल्नै पर्ने भएकाले बोलिदिन्छन्। तर, अधिकांश सांसद कसरी बोल्छन् भन्ने विषय लुकेको छैन। उनीहरुले बोलेको देख्दा विना तयारी र विना अध्ययन बोल्छन् भन्ने कुरा सहजै थाहा हुन्छ।
सत्ता पक्षका सांसदले सरकारको हरेक कुरालाई समर्थन र प्रतिपक्षका सांसदले वुझे पनि वा नवुझेपनि विरोध गर्नै पर्ने पुरानो रोग छ। त्यसैले सांसदहरु सदनमा बोल्छन्। अन्यथा उनीहरुलाई सदनको कुनै मतलव र चासो हुँदैन भन्ने कुरा पनि प्रकाणित भएकै विषय हो। कोही निदाईरहेका हुन्छन त कोही मोवाईलमा र कोही आपसमा गफ गर्नमै ब्यस्त भएको हामीले देखेसुनेकै हो।
हुँदाहुँदा बिहीबार राष्ट्रिय सभाको बैठकमा भने सांसदहरुले हद पार गरे। के विषयमा र के बोल्दैछु ? भन्नेसम्म हेक्का नराखी बोलेका ती सांसदहरुका कारण अहिले सांसदहरुको गरिमा र प्रतिष्ठा माथिनै प्रश्न उठिरहेको छ।
विहिवारको वैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । यो विधेयक सूचनाप्रविधिको माध्यमबाट हुने वस्तु तथा सेवाको कारोबार अर्थात् अनलाइनमा हुने व्यापारको नियमन गर्न ल्याइएको हो।
विधेयकको पहिलो पृष्ठमा हुने प्रस्तावनामै त्यो विषय उल्लेख पनि गरिएको छ। विधेयकको प्रति सवै सांसदलाई पढ्नका लागि दिईएको हुन्छ। तर, जव विधेयकमाथि छलफल सुरु भयो। सांसदरुले अन्धाधुन्द बोले।
सबैभन्दा पहिला गण्डकी प्रदेशबाट निर्माचित नेकपा एमालेकी सांसद भगवती न्यौपानेले बोलिन । उनले नेपालमा पर्याप्त विद्युत खपत गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसप्रति सरकार गम्भीर छ कि छैन ? भन्दै प्रश्न गरिन।
‘हाम्रो देशमा कच्चा पदार्थ छ, पर्याप्त उद्योगधन्दा कलकारखानाहरु सिर्जना गर्ने, यहीं स्थापना गर्ने विषयमा त्यसका निम्ति आवश्यक पर्ने विद्युत हामीले उत्पादन गरेर.. यो विद्युत हामीलाई आवश्यक छ’ उनले भनिन्–‘त्यस्तै गरेर विद्युतबाट यातायातका साधनहरु संचालन गर्ने सन्दर्भमा पनि हामीले त्यसो गर्न सक्यौं भने वास्तवमा पेट्रोलियम पदार्थहरु आयात गर्ने कुराहरुलाई नियन्त्रण गर्न सक्छौं । त्यसो गर्दा हाम्रो देशमा आर्थिक अवस्था र अर्थतन्त्रलाई पनि मजबुत बनाउन सक्छौं ।’
‘देशमै पर्याप्त विद्युत खपत गर्ने योजनाको विषयमा सरकारको ध्यान जाओस् र अनि मात्रै व्यापारको निम्ति हामीले सोच्न सक्छौं ।’ भन्दै उनले आफनो कुरा सकिन।
त्यसपछि मधेशबाट निर्वाचित एमालेकै सांसद तुलसाकुमारी दाहालले बोलेपछि आए मधेश प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित कांग्रेस सांसद जितेन्द्रनारायण देव। कांग्रेस सांसद देवले पनि के विधेयक आएको छ भन्ने बुझ्दै नबुझी सरकारलाई धन्यवाद दिए। उनले त झन ‘कन्जम्सन’, ‘सरप्लस’ जस्ता अग्रेजी शब्दको प्रयोग गरेर विद्युत उत्पाद र विक्रिसम्मको लेखाजोखा सुनाए।
‘विद्युतबाट पैसा कमाउने भन्ने एउटा दूरगामी दृष्टिकोण राखेर नेपाल सरकारले अहिलेको बजेटमा विद्युतलाई, ऊर्जालाई निर्यातको एउटा महत्वपूर्ण वस्तुको रुपमा लिइनेछ भन्ने नीति ल्यायो । त्यसकारणले यो अत्यन्त सह्रानीय छ ।’ उनले भने।
देवपछि लुम्बिनी प्रदेशबाट निर्वाचित एमालेकी सांसद विमला घिमिरेले पनि विद्युत व्यापारकै कुरा गरिन्। ‘विद्युत व्यापारका माध्यमबाट मुलुकमा रोजगारी सिर्जना हुने गरी हामीले विद्युत व्यापारलाई सहज र सबैले पहुँच राख्न सक्ने गरी ऐन बनाइनुपर्छ । जसले गर्दा नेपालमा उत्पादन भएको विद्युतलाई नेपालभित्रै धेरै खपत गर्न सकौं ।’ उनले भनिन्।
यतिसम्मलाई ठिकै मान्ने हो भने पनि हद त सम्वन्धित मन्त्रालयका मन्त्रीले गरे, जसले विधेयक वैठकमा पेश गरे। आफैंले कुन विधेयक ल्याएको हुँ भन्ने वास्ता नगरी बोल्न थालेका रिजालले भने, ‘विद्युत हामीले म्याक्सिमम आफ्नो देशमा उपभोग गर्नुपर्छ र बाँकी विद्युतलाई बाहिर पठाउनुपर्छ भन्ने कुरासँग हामी सहमत छौं । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतले पनि विद्युत खरिद गर्ने विषय तपाईंहरुलाई जानकारी नै होला र बंगलादेशलाई पनि हामी मार्केटको रुपमा प्रयोग गर्नेतर्फ लागेका छौं ।’
यसरी मन्त्रीले सांसदहरुको टिप्पणी, गुनासो र आलोचनाको जवाफ समेत दिईसकेपछि बल्ल राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सांसद र मन्त्रीको ध्यानाकर्षण गराए। ‘माननीय सदस्यहरु यो विद्युत व्यापार नभई विद्युतीय व्यापार सम्बन्धी विधेयक भएको कुरा पनि म स्मरण गराउन चाहन्छु ।’ भन्दै विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई उनले निर्णयार्थ प्रस्तुत गरे र प्रस्ताव सर्वसम्मत स्वीकृत भयो ।
राष्ट्रिय सभा