News

सीता दाहालले कसरी पाईन पूर्वप्रधानमन्त्रीले समेत नपाएको राजकीय सम्मान ?

सरकार भन्छः निष्ठा, त्याग र संघर्षमय जीवनका उदाहरणीय पक्षको मुल्यांकन

सीता दाहालले कसरी पाईन पूर्वप्रधानमन्त्रीले समेत नपाएको राजकीय सम्मान ?

प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नि सीता दाहालको ६९ वर्षको उमेरमा असार २७ गते नर्भिक अस्पतालमा मृत्यु भयो। सीताको मृत्यु भएपछि तत्कालै मन्त्रिपरिषदको वैठक वस्यो, वैठकको अध्यक्षता प्रधानमन्त्री दाहालले नै गरे।

बैठकले सीता दाहालको अन्तिम संस्कारका समयमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गर्यो। ०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आवद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र संघर्षलगायतका आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उनको निष्ठा, त्याग र संघर्षमय जीवनका उदाहरणीय पक्षलाई आत्मसात गर्दै राजकीय सम्मान दिने सरकारले जनाएको छ।

सोही निर्णय अनुसार अन्तिम संस्कारमा प्रधानमन्त्री दाहालकी पत्नी सीतालाई राजकीय सम्मान स्वरूप नेपाली सेनाको एक टुकडीले सलामी दियो। तर, यो निर्णयमा सवैको चित्त वुझेन। सामाजिक सञ्जालमा गम्भिर प्रश्न उठेका छन्। कतिपयले यो कदमको तिव्र ओलोचना गरेका छन्। लेखक खगेन्द्र सङ्ग्रौलाले ट्विटरमा अन्तिम संस्कारका बेला ‘सेना प्रहरीले बुट बजार्दै सलामी दिने संस्कृति’लाई नै ढोँग, विलास र सेना प्रहरीको दुरुपयोग भन्दै आलोचना गरेका छन्।

त्यो भन्दा गम्भिर विषय राप्रपा नेपालका अध्यक्ष कमल थापाले उठाएका छन्। उनले ‘पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई समेत नदिईएको राजकीय सम्मान सीतालाई किन ?’ भन्ने आसयमा फेसबुकमा स्ट्याटस लेखेका छन्। 

सीताको अन्येष्टी गरिएको केही घण्टापछि नै उनले यसरी असन्तुष्टि जनाएका हुन्। गणतान्त्रिक सरकारले श्रेष्ठलाई राजकीय सम्मान नदिएको सम्झँदै उनले लेखेका छन्, ‘आज किन किन पूर्वप्रधानमन्त्री राष्ट्रवादी नेता स्व. मरिचमान सिंह श्रेष्ठको सम्झना आयो। श्रेष्ठको निधनमा गणतान्त्रिक सरकारले राजकीय सम्मान दिएन, दिनचाहेन।’

भारतले १४ महिना नाकाबन्दी लगाउँदा हवाईजहाजबाट नुनतेल ल्याएर जनतालाई खुवाएर विदेशीसामू घुँडा नटेकेका पूर्वप्रधानमन्त्री श्रेष्ठललाई त्यो सम्मान नदिएकोमा उनले असन्तुष्टि जनाएका छन्।

यो विषय राप्रपाका प्रवक्ता सगुनसुन्दर लावतीले पनि उठाएका छन्। ‘पूर्वप्रम मरिचमानसिंह श्रेष्ठको अन्त्येष्टी आँखा अगाडि नाच्दैछ । उहाँलाई गणतान्त्रिक सरकारले राजकीय सम्मानको लायक ठानेन । विरोधस्वरुप ‘श्रीमान गम्भीर’ गाएर मलामीले राष्ट्रवादी नेतालाई जनताको सम्मान अर्पण गरेका थिए’, लावतीले ट्वीट गरेर भनेका छन्, ‘यसर्थ आज प्रश्न उठेको छ, कसलाई राजकीय सम्मान दिने, कसलाई नदिने ? मरिचमानको ०७० साउन ३१ गते निधन भएको थियो।

यतिमात्रै होईन, प्रदिप भट्टराई नामका ट्वीटर प्रयोग कर्ताले ‘प्रचण्डकी श्रीमती र रेनु दाहालकी आमा हुन वाहेक केही योगदान नभएकी सीतालाई राजकीय सम्मान किन ?’ भन्दै प्रश्न उठाएका छन्। उनले लेखेका छन्–‘सीताको प्रचण्डको श्रीमति रेनुका आमा बाहेक नेपालको लागि के योगदान छ र राष्ट्रीय सम्मान !  मैले बुझिन।’

गृह मन्त्रालयका अधिकारीहरूले पनि सीतालाई दिईएको राजकीय सम्मानका विषयमा कार्यविधिले पनि नवोलेको बताउँछन्। उनीहरुले कार्यविधिमा ब्यवस्था नभएपनि कतिपय अवस्थामा अभ्यासका आधारमा पनि यस्तो सम्मान दिने गरिएको बताउँछन्।

तर सीता दाहालको राजकीय सम्मानसहितको अन्तिम संस्कारको निर्णय भने मन्त्रीपरिषद्को निर्णयमा आधारित रहेर गरिएको अधिकारीहरूले बताएका छन्। नेपालमा पछिल्लो इतिहासमा बहालवाला प्रधानमन्त्रीको पत्नीको निधन नभएका कारण पनि अन्तिम संस्कारसम्बन्धी व्यवस्थाबारे विधि स्पष्ट नभएको जानकारहरु वताउँछन्।

सीता दाहाललाई दिइएको राजकीय सम्मान ‘निकै ठूलो तहको नरहेको’ गृह मन्त्रालयले जनाएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीशको जुन मर्यादाक्रम छ ती सरह नै उनीहरूका पत्नीको पनि मर्यादाक्रम हुन्छ भनिएकाले प्रधानमन्त्री वा सो सरहको हो भन्ने अन्तर्राष्ट्रिय अभ्यास हुनाले त्यो व्यवस्था भएको गृह मन्त्रालयका एक अधिकारीले बताए।

प्रधानमन्त्री र प्रधानमन्त्रीकी पत्निको समान मर्यादाक्रम हुने व्यवस्था मन्त्रालयले तयार पारेको कार्यविधिमा पनि उल्लेख रहेको उनी बताउँछन्।

यो पनि,

पत्नि मर्दा प्रचण्डले काजक्रिया गरेनन्, नुन पनि बारेनन्

सीता दाहाल पुष्पकमल दाहाल राजकीय सम्मान मरिचमानसिंह श्रेष्ठ

विशेष