News

सरकारलाई सुमनाको प्रश्नः इँटाभट्टामा जिउँदै मान्छे जलाउनेलाई बचाउन विधेयक ल्याएको हो?

सरकारलाई सुमनाको प्रश्नः इँटाभट्टामा जिउँदै मान्छे जलाउनेलाई बचाउन विधेयक ल्याएको हो?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा ‘गुण्डा’ शब्दको प्रयोग गरेपछि त्यसलाई हटाउन सांसद राजेन्द्र बजगाईले माग गरेका छन् । आइतबार बसेको बैठकमा सांसद श्रेष्ठले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि विरोधको सूचना राखेकी थिइन ।

बिधेयकमाथि बोल्ने क्रममा उनले गुण्डाशैली भनेपछि बजगाईले त्यसलाई रेकर्डबाट हटाउन माग गरेका हुन।

श्रेष्ठले बोल्ने क्रममा हिंसालाई माफी दिने गरी आएको विधेयकको विरोध गरेकी थिईन। उनले राजनीतिको नाममा जिउँदै मान्छेलाई इँटाभट्टामा हालेर जलाउनेलाई बचाउन विधेयक ल्याइएको दाबी गरिन्। 

‘इँटाभट्टामा मान्छे जिउँदै जलाउनेलाई बचाउन ल्याएको हो? एम्बुसलेन्सबाट थुतेर मान्छे मार्नेलाई बचाउन हो?’, उनले सोधिन्, ‘भाला रोपेर मान्छे मार्नेलाई बचाउन हो? यो विधेयक नेपालीको हितमा  छैन।’

उनले यो विधेयक संविधानको धारा १, २१ र ४६ विपरीत रहेको पनि बताइन्। श्रेष्ठले संसद्ले बहुमतको आधारमा यो विधेयक पारित गरे यसविरुद्ध अदालत जान आह्वान गरिन्। 

‘यो शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छ। बुँदागत रुपमा भन्नुपर्दा संविधानको धारा १, धारा २१ र धारा ४६ विपरीत छ। संविधानविपरीतको यो विधेयक कसरी कानुन मन्त्रालयको टेबलबाट पास भयो म जान्न चाहन्छु। यो कानुनी सिद्धान्तविपरीत, मुलुकी अपराध संहिता दफा ४१ विपरीत पनि छ। यो सर्वोच्च अदालतबाट प्रतिपादित नजिरविपरीत छ। हामी जननिर्वाचित सांसदहरु छौँ।’– उनले भने।

उनले हिंसालाई कुनै राजनीतिक दलको आडमा चोख्याउन नपाइने पनि बताइन्। 

सुमना श्रेष्ठ

विशेष