News

भारतीय अनुदानमा निर्मित जयनगर–बिजलपुरा–बर्दिवास रेलमार्ग सञ्चालन

भारतीय अनुदानमा निर्मित जयनगर–बिजलपुरा–बर्दिवास रेलमार्ग सञ्चालन

भारतको अनुदानमा निर्माण भएको जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेलखण्ड आईतबारदेखि सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आईबार १७.३ किलोमिटर लामो रेलवेको शुभारम्भ गरे। 

उक्त समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, मधेश प्रदेशका नेता, सरकारका प्रतिनिधि लगायत उपस्थित थिए। गत जेठ १७ देखि २१ सम्म प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको भारत भ्रमणका क्रममा नेपाल सरकारलाई यो खण्ड हस्तान्तरण गरिएको थियो।

१७.३ किलोमिटर लामो कुर्था–बिजलपुरा खण्डमा कुर्था, पिपराडी, लोहारपट्टी, सिंग्याही र बिजलपुरा गरी ५ वटा स्टेनश छन्। यो भागको निर्माण भारतीय रुपैयाँ ७८३.८३ करोड (नेपाली १२ अर्ब ५१ करोड) लागतमा सम्पन्न भएको हो। 

यो खण्ड जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग परियोजनाको दोस्रो चरण हो। जयनगरदेखि कुर्थासम्मको पहिलो चरणको गत वर्ष अप्रिलमा उद्घाटन भई सञ्चालनमा आइसकेको छ। बिजलपुरादेखि बर्दिवास जोड्ने तेस्रो चरणका लागि हाल जग्गा अधिग्रहण भइरहेको छ।

उक्त समारोहमा बोल्दै मन्त्री ज्वालाले रेल क्षेत्रसहित नेपालका पूर्वाधारको विकासमा भारत सरकारको निरन्तर सहयोगका लागि आभार व्यक्त गरे। उनले यस रेल कनेक्टिभिटीले दुई देशका जनताबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै नेपालको व्यापार र पर्यटन प्रवद्र्धन गर्न मद्दत गर्ने बताए।

भारतीय दुताबासका नियोग उप–प्रमुख श्रीवास्तवले दुवै देशका जनताको फाइदाका लागि दुई देशबीच कायम विकास साझेदारीलाई थप बलियो बनाउन भारत सरकार सदैव प्रतिबद्ध रहेको बताए।

विशेष