भारतीय दूतावासद्वारा विभिन्न संघ/संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस प्रदान

भारतीय राजदूतावास आईतवार स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न संघ/संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस प्रदान गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले ती एम्बुलेन्स तथा स्कुल बस हस्तान्तरण गरे। समारोहमा विभिन्न जिल्लाका नगर/गाउँपालिकाका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी, समाजसेवी आदिको उपस्थिति थियो ।
दूतावासले विज्ञप्तिमार्फत नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको जनाएको छ ।
कार्यक्रममा बोल्दै राजदूत श्रीवस्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताए ।
उनले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको जानकारी दिए । लामो इतिहास र विरासत बोकेको र नेपालका धेरैजसो भूभागमा फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि उल्लेख गरे ।
मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको प्रशंसा गरे । भारतले सन् १९९४ यता नेपालका विभिन्न जिल्लामा गरी ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ।