News

भोलीदेखि अधिक वर्षा, कहाँ कहाँ छ जोखिम ?

भोलीदेखि अधिक वर्षा, कहाँ कहाँ छ जोखिम ?

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुने जनाएको छ। पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि आज केही मात्रामा कम वर्षा भएको छ । आज राति पनि भारी वर्षाको सम्भावना छैन ।

‘शनिबार र आइतबारको तुलनामा सोमबार र मङ्गलबार बढी वर्षा हुने सम्भावना छ । भोलि दिउँसोका लागि विगतको तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ’ महाशाखले भनेको छ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल रहँदा नेपालमा कम वर्षा हुने सम्भावना छ । 

सङ्घीय राजधानी काठमाडौँमा आज राति हल्का वर्षाको सम्भावना छ भने भोलि दिउँसो मध्यम वर्षाको अनुमान गरिएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सोमवार दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी पोखरामा एक सय ५५ मिलीमिटर वर्षा मापन गरिएको छ । लुम्लेमा एक सय ३४ मिलीमिटर वर्षा भएको छ । त्यसैगरी ओखलढुङ्गामा ७२, जिरीमा ४२, भैरहवामा ३७, धनगढीमा ३२ र काठमाडौँमा ३४ मिलीमिटर वर्षा मापन गरिएको छ । 
 

विशेष