भाटभटेनी साना दुःखले आर्ज्याको संस्था होईन!
अनिल ‘अविरल’
प्राचीन धार्मिक साहित्यहरुमा उल्लेख गरेको हिमवत खण्डको एक पवित्र भुमि पूर्वी नेपालको खोटाङ जिल्ला पनि एक हो। यस जिल्लाको खास गरि हलेशी किराँत, बौद र हिन्दु सबै धर्मावलम्बीको लागि एक महत्वपूर्ण तिर्थ स्थल हो। किरात राजा होलेशुङको पवित्र भूमिबाट हलेशी नामाकरण भै प्रख्यात भएको यस स्थानलाई भगवान शिवको स्थान वा हलेशी महादेवको नामले हिन्दुहरुमा प्रख्यात छ। यस्तै हिमाली बौद्द समुदायमा यो स्थान मारातिकाको नामले प्रसिद्द छ। बौद्दहरुका अनुसार आचार्य पद्म सम्भव (हिमाली बौद्दहरुले गुरु रिन्पोछे पनि भन्छन) जसले तिब्बत लगायत हिमाली क्षेत्रमा बौद्ध धर्म स्थायी तवरमा स्थापना गरे, वहाँ यस स्थानामा आफ्नो खान्डो (महिला सहकर्मी) मन्दरवाका साथ आउनु भई तपस्या गर्नु भएको र अमरत्वको बरदान प्राप्त गर्नु भएको मानिन्छ।
यसै पवित्र स्थलको नजिक उत्तरतर्फ एउटा सानो गुरुङ गाउँ अवस्थित छ। पहाडी भिरपहरालाई खनि खोस्री उब्जाई खाने आफ्नै कमाईमा बिश्वास गर्ने परिश्रमी र इमान्दार मानिसहरुको सानो गाउँ छ– रावा दुबे। हो यहि स्थानमा मीन बहादुरका पुर्खा पनि आफ्नो दश नंग्रा खियाउदै, पसिनाले खेत बारी सिंचित गर्दै बसोबास गर्दथे। कठिन भौगोलिक परिस्थिति भएको स्थानमा पनि आफ्नो मेहनतले गरि खाने र आफुसँग जे जस्तो छ सोबाट पवित्र स्थल हलेशिलाई पनि चढाउदै र गरिब गुरुवाको सेवा गर्ने यी मेहनती गुरुङहरुले आफ्नो मेहनत र सदाचारका कारण छरछिमेक, वर–पर क्रमश विश्वास जित्दै गए। यो कथा बिस्तारै राजधानी काठमाडौंसम्म पनि पुग्यो। त्यसैले यी गुरुडहरु मध्ये कसैलाई तत्कालिन नेपाली सेनामा भर्ति गराउने इच्छा तत्कालीन सरकारको भए अनुसार एक भाई रामजी गुरुङले सेनामा भर्ति भई देशको सेवा गर्ने मौका पाए।
रामजी गुरुङ आफ्ना पुर्खा जस्तै मेहनती र इमान्दार भएको हुनाले वहाँले संवेदनशिल जिम्मेवारीहरु पाउँदै जानु भयो। यसै शिलशिलामामा वहाँ कोदारी भन्सार (हाल सिन्धुपाल्चोकको तातो पानी) मा पनि खटिनु भयो। यहाँ पनि कुनै लोभ लालचमा नफस् उत्कृस्ट र इमान्दारी देखाएको कारण वहाँलाई लप्टन दर्जामा पदोन्नती गरि पैसा छाप्ने टक्सार बिभाग जस्तो संबेदनशील जिम्मेवारीमा पठाईयो। त्यहाँ पनि कुनै लोभ लालच नदेखाई इमान्दारीसाथ काम गर्दै आउनु भएकोले वहालाई पदोन्नती (बडा हाकिम ) गरि पुर्व ३ न पठाउने प्रस्ताब आए पनि वहाको प्रतिकुल स्वास्थ्यको कारण वहाँले सो पदोन्नती समेत अस्वीकार गरि सेवाबाट राजिनामा दिनु भएको थियो। राजीनामा दिनु अघि नै रामजीले आफ्नो भतिज चन्द्रध्वोज गुरुङ र भान्जा धन्जमान घलेलाई पनि देशको सेवामा लगाई सक्नु भएको थियो। वहाँहरुले पनि पिता पुर्खाको इज्जत धान्दै नेपाली सेनामा उत्कृस्ट काम गर्दै जानु भयो र मेजरसम्मको पद प्राप्ति गर्नु भयो। त्यति बेलाको जमानामा सर्वसाधारणले नेपाली सेनाको मेजर पद पाउनु सानो उपलब्धि होइन।
वहाँको अर्को भतिज ब्रिजबहादुर गुरुङ आफ्नो पुर्खौली थलोमा नै पुर्खाको सम्पत्ति र इज्जत धानेर जीविकोपार्जन गर्दै आउनु भएको थियो। पुर्खेैदेखि धार्मिक कार्य र अरुलाई सहयोग गर्नुपर्छ भन्ने मान्यता भए पनि यी ब्रिजबहादुर यस्ता पवित्र काममा अझ एक कदम अगाडी बढे। उनले बेद लगायत धार्मिक ग्रन्थहरु पनि पढे। रामायण, महाभारत त अझ कण्ठस्त पारे। थप अध्ययनको कारण उनमा करुणा भाव अझ बृद्दी भयो र समाजका सबैलाई ज्ञान गुण बाड्नुका साथै हर क्षेत्रमा सहयोग पुर्याउन थाले । यिनी धार्मिक कार्यमा पनि अझ बढी लाग्न थाले । यिनी हलेशी महादेवको अनन्य भक्त भए ।
पुर्खादेखिको सत्कर्म, बुवा ब्रिजबहादुरको सुकृतिका कारण हलेशी महादेवको काखमा मीनबहादुर गुरुङ्गको जन्म भयो। यहि रावा दुबेको पाखो पखेरोमा। भगवान बुद्धले भन्नु भए जस्तै पुण्य कामहरु कहिले खेर जादैन बरु पछिल्लो जुनिहरुको लागि सम्भार हुदै जान्छ (जसलाई पुण्य सम्भार भनिन्छ)। यस्तै मीनबहादुर गुरुङको जन्म हलेशी क्षेत्रको पावन भूमिमा बैशाख वा बुद्द पुर्णिमाको दिन भयो। आफ्नै बलबुतामा जिउनु पर्छ, दिन दुखीको सेवा गर्नु पर्छ र भगवान प्रति आस्था राख्नु पर्छ भन्ने पुर्खाहरुको आशिर्वाद शिरोपर गर्दै खोटाङ्गको भिर पखेरामा हुर्की मीनबहादुरले पितृको पुण्य कार्यको कारण पाशुपत क्षेत्रमा आई आफ्नो कर्म थलो बनाउने सुअवसर प्राप्त गर्नु भयो। पाशुपत क्षेत्र काठमाडौं आउनु भएदेखि वहाँ पशुपतिनाथको अनन्य भक्त बन्नु भयो। पशुपतिनाथको अनन्य भक्त मीनबहादुरले पशुपतिनाथको बर्षभरि नै दैनिक पुजाको व्यवस्था गर्नु भएको छ ।
शिक्षा आर्जन गर्नुपर्छ भन्ने बुवाको अर्तीलाई शिरोपर गर्दै मीनबहादुरले अर्थ शास्त्रमा स्नातकोत्तर गर्नुभयो । त्यो जमानामा एउटा गाउले ठिटोले अर्थ शास्त्रमा स्नातकोत्तर गर्नु सानो सफलता अवश्य थिएन । यस्तै जीविकोपार्जनको लागि नेपाल बैंकमा जागिर खानु भयो र श्रीमतीको लागि हाल पुरानो भाटभटेनी रहेको स्थानमा एउटा सानो किराना पसल स्थापना गरि दिनु भयो ।
इमान्दारिता, मेहनत र सफाई (दिलको सफाई कार्य स्थलको सफाई) लाई सधै आफ्नो मुख्य सिद्दान्त आधारभूत सिद्धान्त मान्नु हुने र ब्यबहारमा नै सतप्रतिशत अंगाल्नु भएकोले सानो किराना पसलले पनि व्यापारमा उल्लेख्य फड्को मार्दै गयो । देशी बिदेशी ग्राहकको अपार माया, साथ सहयोग पाउन थाल्यो। यसैले मीनबहादुरले पनि बैकको जागिर छाडेर व्यापारमा नै पूरा समय दिन थाल्नु भयो।
यसरी भाटभटेनीको प्रगतिको कथा सुरु हुन्छ। रोजगारिको ठुलो समस्या भएको हाम्रो देशमा ५० हजारलाई रोजगारी दिने, धेरै भन्दा धेरै ग्राहकलाई सुपथ मुल्यमा गुणस्तरीय अत्यावश्यक सामग्री सुलभ उपलब्ध गराउने उद्देश्यका साथ यो कथा अगाडी बढी रहेको छ। धेरैलाई लाग्ला रातारात भाटभटेनीको यत्रो साम्राज्य स्थापना भएको होला। सत्य त्यसो होइन । यो त पुर्खादेखिको तपस्या, मीनबहादुरको अथक प्रयास र इमान्दारिता र लाखौ ग्राहक शुभ चिन्तकहरुको सदभाव र विश्वासका कारण मात्र सम्भव भएको हो । यत्रो सम्पत्तिवाला कस्तो विलासिताको जीवन बिताई रहेको भन्ने धेरैलाई लाग्नु स्वाभाविक हो । तर वहाँ त बिलासिता, माछा मासु, धुम्रपान, मध्यपान, जुवा तास वा अन्य मनोरञ्जनबाट कोशौ टाढा हुनुहुन्छ। वहाँलाई कुनै पद, पावर र पब्लिसिटी (ख्याती) को पनि कुनै लोभ लालच छैन । होइन भने आजको राजनीतिमा वहाँ सजिलै सांसद, मन्त्रि बन्न नसक्ने के थियो र ? ब्यापार बिस्तार के को लागि भन्दा वहाँ सधै भन्नु हुन्छ, ५० हजार जनालाई रोजगारी दिलाई व्यक्ति र राज्यलाई योगदान दिनुका साथै धेरै भन्दा धेरै ग्राहकहरुलाई सुपथ र सुलभ तवरमा सामान उपलब्ध गराउने।
पैसा नै मात्र कमाउनु हो भने त किन यस्तो कठिन बाटो रोज्ने? शेयर, घर जग्गा आदि काम गरे त यति धेरै रातोदिन खटिनु पर्दैन नि भन्दा वहाँ सधै भन्नु हुन्छ, अरुका १ जना सन्तान छन्, मेरा ८÷९ हजार सन्तान छन् र यो सन्तान ५० हजार पुर्याउनु छ। उनीहरु सबैको उचित रेखदेख गर्नु छ। त्यसैले मैले बिश्राम लिन मिल्दैन। यसरी छल कपट, आलस्य वा अल्छीपन र मोजमस्ती जस्ता नकारात्मक कुरा मीनबहादुरको रगतमा नै छैन। वहाँको मनमा त बोधिसत्वको भाव स्पस्ट झल्किन्छ, जसले आफु मात्रै यस दुखबाट पार लाग्ने होइन कि अन्य धेरैलाई पनि दुखबाट पार लगाउने सत्प्रयासमा हुनुहुन्छ। यसको लागि वहाँ जस्तोसुकै परिक्षा दिन पनि तयार हुनुहुन्छ। भगवान राम, सितादेखि सुकरातसम्मले यो समाज समक्ष परिक्षा दिएको नै हो । तर आखिर सत्यको जीत अवस्य हुनेछ ! जय देश !
भाटभटेनी ललिता निवास मीनबहादुर गुरुङ