News

बञ्चरेडाँडाबासीले फेरी अवरोध गरेपछि काठमाण्डौंको फोहोर ब्यवस्थापन रोकियो

बञ्चरेडाँडाबासीले फेरी अवरोध गरेपछि काठमाण्डौंको फोहोर ब्यवस्थापन रोकियो

नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासीले बञ्चरे डाँडामा फोहोर फाल्न फेरी अवरोध गरेका छन्। आज बिहानैदेखि ककनी गाउँपालिका र धुनीबेसीको सीमानामा स्थानीयले अवरोध गरेका छन्।

काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तरिकाले फोहोर फालेको र सरकारले फोहोर व्यवस्थापनमा चासो नदिएको भन्दै उनीहरु अवरोधमा निस्किएका हुन। ककनी–३, ५ र धुनीबेसी–१ का स्थानीय विरोध प्रदर्शनमा उत्रिएका हुन।

स्थानीयबासीको आन्दोलनमा ऐक्यबद्धता जनाउन जनप्रतिनिधिहरू पनि सडकमा आएको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए। अवरोधका कारण काठमाडौंबाट फोहोर बोकेर गएका कन्टेनर बीच बाटामै रोकिएका छन्।

बजगाईका अनुसार एक महिनाजति अगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सहरी विकासमन्त्री सीता गुरूङ, प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुख र वडाध्यक्षसमेतको बैठक भएको थियो। बैठकमा प्रधानमन्त्रीले प्रभावित क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्ने गरी दस दिनभित्र प्रतिवेदन तयार पार्न र समाधान गर्न कार्यादेश दिए पनि सहरी विकासमन्त्रीले अहिलेसम्म तदारूकता नदेखाएको उनले बताए।

यसैगरी, ककनी गाउँपालिकाको १२ औं सभाले फोहोरका कन्टेनरको प्रवेश शुल्क उठाउने तयारी गरेको छ। साउन १ गतदेखि ठूला प्रतिगाडीलाई एक हजार पाँच सय र सानालाई एक हजार रूपैयाँ लिने तयारी गरेपछि फोहोर संकलन गर्ने निजी संघसंस्थाको छाता संगठन फोहोरमैला व्यवस्थापन संघले आइतबार मुद्दा दर्ता गरेपछि आन्दोलन गर्नु परेको बजगाईंले बताए।
 

विशेष