भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्तिको विषयले प्रचण्डको घरमा झगडा
भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्तिको विषयले यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाको परिवारमा कलह सुरु भएको छ। भाई नारायण र छोरी रेनुको रोजाई फरक परेपछि प्रधानमन्त्री दाहाल तनावमा छन्।
भरतपुर क्यान्सर अस्पतालमा माओवादीले निकै लामो समयदेखि चलखेल गर्दै आएको छ। भरतपुर महानगरपालिकाको मेयर अस्पताल सञ्चालक समितिको पदेन सदस्य हुने भएकाले रेणु दाहालको हस्तक्षेप र चासो हुनु स्वभाविक हो।
तर, माओवादी अध्यक्ष दाहालले चितवनलाई आफनो निर्वाचन क्षेत्र बनाएपछि राष्ट्रिय सभा सदस्य समेत रहेका भाई नारायण दाहालको पनि अस्पतालमा चुरिफुरी छ। यसअघि दाहाल प्रधानमन्त्री हुँदा नारायण उनका प्रशासनिक सल्लाहकार थिए भने कांग्रेससँग नेता गगन थापा स्वास्थ्यमन्त्री।
थापा आफु निकट अनिलविक्रम कार्कीलाई कार्यकारी निर्देशक नियुक्त गर्न चाहन्थे । तर, प्रधानमन्त्रीलाई देखाएर नारायणले डा. विजय आचार्यलाई कार्यकारी निर्देशक वनाउन सफल भए। आचार्यलाई नियुक्ति दिलाए बापत नारायणले उनको घरजग्गा नै आफनो नाममा गराएको चर्चा चलेको थियो।
अहिले पनि उनी आचार्यलाई नै नियुक्त गर्ने योजनामा छन्। तर, त्रिपक्षिय प्रतिस्पर्धाका कारण नारायण अप्ठ्यारोमा परेका छन्। यसैबीच रेणुको सिफारिसमा माओवादी कोटाबाट अस्पतालको अध्यक्षमा बिजयराज न्यौपानेको नाम गएपछि नारायण दाहाल रनाहामा छन्। उनी त्यसलाई समेत रोक्न भरतपुरदेखि बालुवाटार, बूढानीलकण्ठदेखि रामशाहपथसम्म धाएको माओवादीका नेताहरू बताउँछन् ।
माओवादीबाट कार्यकारी निर्देशकमा कृष्णसागर शर्मा दौडमा छन् भने स्वास्थ्य मन्त्री मोहन बस्नेतको रोजाईमा शिबजी पौडेल छन । चितवन कांग्रेसले शिबजी पौडेललाई कार्यकारी निर्देशक नबनाए अरुलाई सहयोग गर्न नसकिने धम्कीसमेत दिएका छन ।
अस्पतालमा खरिद प्रकृयामा ठूलो आर्थिक चलखेल हुने भएकाले नारायण दाहालको जोडबल चर्को हुने गरेको एक पूर्वकार्यकारी निर्देशक बताउँछन्। त्यसमाथि स्वास्थ्यमन्त्री र मेयर सरोकारवाला नै भएकाले त्रिपक्षिय प्रतिस्पर्धा देखिएको स्रोत वताउँछ।
भरतपुर क्यान्सर अस्पताल