अक्सिन कम भएर नेपाल वायुसेवा निगमको न्यारोबडी मलेसियामा विरामी, १५२ यात्रु अलपत्र
नेपाल वायुसेवा निगमको न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि ग्राउण्डेड भएको छ । चालकदललाई आवश्यक पर्ने अक्सिजन अभावले काठमाडौं फर्किन लागेको निगमको विमान उड्न सकेको छैन।
विमान नउडेपछि काठमाडौं फर्किन लागेका १ सय ५२ यात्रु अलपत्र छन् । ककपिटमा हुने सिलिन्डरमा अक्सिजन अभाव भएपछि ‘सगरमाथा’ नामको न्यारोबडी फर्किन नसकेको निगमका एक कर्मचारीले जानकारी दिए।
निगमले ७ दिनदेखि काठमाडौंमा ग्राउन्डेड भएको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की विमानलाई आइतबार भारतीय इन्जिनियरहरू बोलाएर मर्मत गरेर सोमबार राति १० बजे मलेसिया पठाएको थियो।
सोही विमानको ककपिटको अक्सिजन अभाव भएपछि त्यहाँबाट नेपाली सयमअनुसार बिहान ३ बजे उड्नुपर्ने जहाज अहिलेसम्म उडेको छैन। निगमका पाइलटहरूले अक्सिजन अभावमा जहाज काठमाडौंबाट उडाइएको विषय गम्भीर भएको बताएका छन् ।
उडानमा संलग्न एक अधिकारीले भने मलेसियास्थित एयर एसियासँग अक्सिजन मागेर जहाज काठमाडौं फर्काउने तयारी भइरहेको बताए । निगमका प्रवक्ता रमेश पौडेलले अक्सिजन उपलब्ध भइसकेको र जहाज चाँडै काठमाडौं फर्किन लागेको बताए ।