चीनियाँ विदेश मन्त्री ३ सातादेखि सार्वजनिक नभएपछि विश्वमै वढ्दैछ चासो
चिनियाँ विदेश मन्त्री छिन काङ तीन सातादेखि सार्वजनिक कार्यक्रमहरूमा नदेखिएपछि विश्वब्यापी रुपमा उनको खोजी सुरु भएको छ। गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका छैनन्।
कोरोना महामारीको प्रभाव कम भएको र चीनले संसारभरि कूटनीतिक गतिविधि बढाइरहेका बेला विदेश मन्त्री काङ नदेखिएपछि उनको अवस्थाबारे अडकलबाजी भईरहेको छ। यस अघि राष्ट्रपति सी चीन फिङका विषयमा पनि यसैगरी अड्कलवाजी भएका थिए। उनलाई सेनाले कब्जा गरेको हल्ला फैलिएको थियो।
मन्त्री काङका विषयमा पनि विभिन्न आँकलन भईरहेका छन्। जुलाई पहिलो साता काङले युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो। तर अन्तिम समयमा बेइजिङले उक्त भेटघाट निर्धारित समयमा सम्भव नभएको सन्देश पठायो। तर, भेट नहुने कारण खुलाएन। बोरेलको बेइजिङ भ्रमण रद्द भयो।
गत साता इन्डोनेसियाको जकार्तामा भएको दक्षिण–पूर्वी एसियाली मुलुकहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकमा पनि काङ सहभागी भएनन्। उनको साटो उक्त बैठकमा चीनका अर्का कूटनीतिज्ञ वाङ यीलाई पठाइएको थियो। वाङ यी गत डिसेम्बरसम्म चीनका विदेश मन्त्री थिए।
गत मंगलबार भएको चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एक जना प्रवक्ताले स्वास्थ्यका कारण काङ इन्डोनेसिया जान नसकेको बताएका थिए। विदेश मन्त्रालयकी प्रवक्ता ले भने काङका बारेमा सार्वजनिक रुपमा दिन आफुसँग कुनै सूचना नभएको वताईन।
राष्ट्रपति सीका विदेश भम्रणको सबै ब्यवस्था मिलाउने काङ सीका विश्वासपात्र मानिन्छन्। कोरोना महामारी र व्यापार युद्धले अमेरिकासँगको सम्बन्ध नाजुक बनेका बेला सीले काङलाई राजदूत बनाएर अमेरिका पठाएका थिए। १७ महिना अमेरिकामा बस्दा उनले दुई देशको सम्बन्ध बलियो बनाएर अघि बढाउन आवश्यक रहेको वताएका थिए। सीसँगको निकटताकै कारण काङ निकै छिटो विदेश मन्त्रालयको जिम्मेवारीमा पुगेको बताइन्छ। गत अक्टोबरको राष्ट्रिय सम्मेलनले काङलाई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनाएको थियो।