पहिलो बालमैत्री पालिकाका वडाध्यक्षले कार्यालयमै किशोरलाई निर्घात कुटे
मुलुकमै पहिलो बालमैत्री पालिका घोषणा भएको मकवानपुरको मनहरी गाउँपालिकाका एक वडाध्यक्षले आफ्नै कार्यालयमा न्याय माग्न आइपुगेका एक किशोरलाई निर्घात कुटपिट गरेका छन्।
मनहरी–३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले कार्यालयभित्रै स्थानीय १७ वर्षीय प्रशान्त कार्कीलाई कुटपिट गरेका हुन। घर झगडा मिलाउन कार्यालय पुगेका प्रशान्तलाई वडाअध्यक्ष अर्याले उपस्थित अन्य ब्यक्तिकै अगाडि चार थप्पड लगाएका थिए।
उनको घरमा आमा सानो कान्छी कार्की र कान्छी आमा सम्झाना कार्कीका विचमा झगडा थियो। सोही विवाद मिलाउन उनीहरु वडा कार्यालयमा पुगेका थिए। आफ्नी आमालाई कान्छि आमाले कुटपीट गरेपछि उनी छेक्न अगाडि सरेका थिए। सोही समयमा आफुमाथि वडाअध्यक्षले आफूमाथि कुटपिट गरेको प्रशान्तले बताएका छन्।
अध्यक्ष अर्यालले प्रशान्तको घाँटीमा प्रहार गरेका थिए। कार्की परिवारको घरायसी झगडा हुँदा वडा कार्यालयमा विवाद मिलाउनुको सट्टा वडा अध्यक्षले उल्टै हातपात गरेको भन्दै स्थानीयले पनि उनको आलोचना गरेका छन्।
कुटपिट गरिसकेपछि पनि वडाध्यक्षले ‘अभिभावक हुँ जे पनि गर्छु’ भन्दै फुर्ति हाँकेको जनाईएको छ। अहिले उनी फोन नउठाई वसेका छन्।