News अपराध सुरक्षा

बलात्कार प्रकरण नसेलाउँदै सुन तस्करीमा महराका बाउछोरा, यस्तो छ तस्करसँगको कनेक्शन

बलात्कार प्रकरण नसेलाउँदै सुन तस्करीमा महराका बाउछोरा, यस्तो छ तस्करसँगको कनेक्शन

बलात्कार प्रकरणमा लामो समय जेल परेर निस्किएका पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा फेरी सुन तस्करी प्रकरणमा जेलिएका छन्।

भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको समेत कनेक्सन देखिएको प्रहरीको अनुशन्धानले देखाएको छ। उनीहरुले सुन तस्कर चिनियाँ नागरिक वाङसँग पटकपटक सम्पर्क गरेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोराको सुन तस्करसँग सम्बन्ध देखिएको र  जफत भएको भेप लिलामीमा राहुलले चासो देखाएको उल्लेख छ। 

फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट ०७९ पुस १० गते नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा करिब ९ किलो सुन आएको खुलेको थियो। राखी इलेक्ट्रिक सिगरेट (भेप)भित्र लुकाएर ल्याएको भेपभित्र सुन रहेको थाहा पाएपछि सुन चोरीमा दिनेश बस्नेत, भन्सारका नायब सुब्बा रेवन्त खड्का लगायत जोडिएका थिए ।

उक्त सुन प्रतितोला ८० हजार रुपैयाँमा सुन तस्करीमा संलग्न गिरोहलाई बिक्री गरिएको थियो। यस क्रममा पनि राहुलले विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्तिनाथ श्रेष्ठलाई सम्पर्क गरी लिलामीको प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेका थिए। उनले लिलामको प्रक्रियाबारे पनि बुझेका थिए।

सुन जफत गरेको २–३ दिनपछि भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेले यात्रु शाखामा आई आफुलाई भेटेर तोकिएको राजस्व बुझी जाँचपास गरिदिन आग्रह गरेको श्रेष्ठले बताएका छन्। त्यसको भोलिपल्ट आफूलाई श्याम सुन्दर साह भन्ने ब्यक्तिले पनि उनलाई सोही आग्रह गरे। सोही विषयमा आफूलाई राहुल महराले फोन गरी जफत त्यस विषमा कुरा गरेको उनको भनाई छ।

काठमाडौं जिल्ला अदालतमा पेस भएको गोप्य मिसिलमा सुन ल्याउने तस्करको समूहसँग महरा र राहुलको बारम्बार सम्पर्क भएको कल डिटेल्स रिपोर्ट (सिडिआर) पेस गरिएको छ । तस्करको समुहमा लुई नामका चिनियाँ नागरिक रहेको र उनीसँग महराको पटक पटक प्रत्यक्ष सम्पर्क भएको पाइएको छ । लुईले तस्करीका लागि दाओजिन वाङ भन्ने व्यक्तिलाई परिचालन गर्ने गरेको र वाङले नेता महरा तथा उनका छोरा राहुललाई बारम्बार सम्पर्क गर्ने गरेको देखिएको छ । राहुलले लुईका सवारी चालक लोकेन्द्र पौडेल, तस्कर वाङ र अशिन नाम गरेका व्यक्तिसँग बारम्बार कुरा गरेको पाइएको छ । 

कृष्णबहादुर महरा र सुन तस्करीमा संलग्न दुई चिनियाँ नागरिकबीच सुन तस्करी भई विमानस्थलमा आइपुगेको मिति पुष १० देखि चैतसम्ममा २२ पटक तथा वाङ र राहुल महराबीच यही समयमा १९५ पटक कुराकानी भएको पाइएको छ । सो अवधिमा वाङले राहुललाई ६४ पटक फोन सम्पर्क गरेका छन् भने राहुलले वाङलाई १३१ पटक टेलिफोन सम्पर्क गरेको स्रोतको दावी छ।

त्यसैगरी वाङ र उनका चालक लोकेन्द्र पौडेलबीच ६५१ पटक कुराकानी भएको पाइएको छ । त्यस्तै वाङले राजस्व तिरेर वा लिलामी मिलाएर छुटाउने भन्दै सम्पर्कमा गएका श्याम साहलाई ५२ पटक टेलिफोन गरेका छन् भने साहले वाङलाई २०१ पटक टेलिफोन सम्पर्क गरेको पाइएको छ ।

राहुल महराले वाङका चालक लोकेन्द्रसँग ३६ पटक, अशिन भन्ने व्यक्तिलाई ३ पटक र भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई एकपटक सम्पर्क गरेको पाइएको छ । श्याम साह र खुवाप्रसाद न्यौपानेबीच १३५ पटक कुराकानी भएको प्रमाण प्रहरीले गोप्य मिसिलमा समावेश गरेको छ ।

सुन तस्करहरूसँग महरा बाबुछोराको प्रत्यक्ष सम्पर्क देखिए पनि सुन तस्करीमा उनीहरूको संलग्नता छ कि छैन भनी प्रहरीले त्यति खोजबिन गरेको देखिएको छैन। प्रहरीले महरा बाबुछोरासँग बयान समेत लिएको देखिँदैन। 

कृष्णबहादुर महरा सुन तस्कर

विशेष