News

५ लाख चन्दा नदिएपछि सुन पसलमा बम भन्दै राखियो शंकास्पद वस्तु, डिस्पोजको तयारी

५ लाख चन्दा नदिएपछि सुन पसलमा बम भन्दै राखियो शंकास्पद वस्तु, डिस्पोजको तयारी

नेपाल उत्थान क्रान्तिकारी पार्टीका नाममा ५ लाख चन्दा माग्ने समुहले काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु राखेर तर्साएको छ। सिनामंगल पुल नजिकै रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

उक्त समुहले आफूले मागेको पैसा नदिएपछि सिनामंगलमा सुन पसलको सटर बाहिर शंकास्पद वस्तु राखेको खुलेको छ । ६० वर्षीय मने विश्वकर्माले सञ्चालन गर्दै आएको ज्वेलर्सको सटरमुनि शङ्कास्पद वस्तु भेटिएको थिए।

अञ्जान व्यक्तिले आज मात्रै पैसा माग्नका लागि ९ पटक फोन गरेको उनले बताए । शंकास्पद वस्तु राख्ने व्यक्तिको नाम खुलेको छैन । ‘५ लाख नदिए बम राख्छु भनेर धम्की दिएका थिए । मैले पैसा दिन नमानेपछि यस्तो गरेको होला।’ उनले भने।

सटरमा संयोजक सफलको नाममा टाँसिएको पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । ’

विश्वकर्मासँग यसअघि गत वर्षपनि २ जनाले पसलमा नै आएर पैसा मागेको खुलेको छ । पसल सञ्चालक विश्वकर्माले प्रहरीलाई खबर गर्ने बताए पनि उनीहरू भागेका थिए । शङ्कास्पद वस्तु डिस्पोजलका लागि नेपाली सेनाको टोली त्यसतर्फ गएको जनाईएको छ।

विशेष