News

ग्रेटर नेपालको नक्सासहित भारतीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र, राष्ट्रसंघलाई बोधार्थ

ग्रेटर नेपालको नक्सासहित भारतीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र, राष्ट्रसंघलाई बोधार्थ

भारतले आफ्नो संसद भवनमा ‘अखण्ड भारत’ को नक्सा राखेको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ग्रेटर नेपालको नक्सासहितको ज्ञापनपत्र पठाईएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले दूतावासमार्फत ज्ञापन पत्र पठाएको हो ।

अध्यक्ष फणिन्द्र नेपालद्वारा हस्ताक्षरित पाँच बुँदे ज्ञापनपत्रमा भारतको राजनीतिक नक्सामा सम्राट अशोकको साम्राज्यको राजनीतिक मानचित्र राखेर त्यसलाई सांस्कृतिक नक्सा भन्नु झूट सिवाय केही नभएको उल्लेख छ । तत्कालीन ग्रेट ब्रिटेनको संसदले ७७ वर्षअघि सन् १९४७ जुलाई १८ मा इन्डिपेन्डेन्स एक्ट पारित गरेको सन्दर्भलाई स्मरण गर्दै भारतीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको मोर्चाले जनाएको छ ।

‘ग्रेटर नेपालको नक्सा अखण्ड भारतको नक्साविरुद्धको प्रतिक्रियामात्र होइन, इन्डियाको ज्यादतीविरुद्धको नैतिक लडाइँ पनि हो । अखण्ड भारत कति प्रतिशत यथार्थ हो, छलफलको विषय हुनसक्छ तर ग्रेटर नेपाल शत प्रतिशत यथार्थ हो ।’–ज्ञापन पत्रमा भनिएको छ।

अखण्ड भारतको नक्सा राखेर ग्रेटर नेपाललाई व्यापक र विस्तृत गर्ने भूमिका पटक–पटक खेलेको भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद समेत दिईएको छ। ‘०१९ को नोभेम्बर २ मा नेपालको कालापानी क्षेत्रलाई इन्डियाको राजनीतिक नक्सामा राखेर गरेको गल्ती नसच्याएर सबै नेपालीहरूमा कालापानीमात्र होइन अब नालापानी पनि चाहिन्छ भन्ने राष्ट्रवादी भावनाको विस्तार गर्न सहयोगी भूमिका खेल्नुभएको थियो भने गत मे महिनाको २८ तारिखमा त्यहाँको संसद् भवनमा अखण्ड भारतको नक्सा राखेर नेपालमा ग्रेटर नेपालको नक्सा राख्ने र यसलाई व्यापक रूपमा विस्तार गर्ने वातावरणको निर्माण गर्न ठूलो योगदान पुर्याउनुभएको छ’, ज्ञापनपत्रमा भनिएको छ।

सार्क महासचिव लगायत सार्क राष्ट्रहरु तथा चीन र बेलायतलाई समेत पठाइएको ज्ञापन पत्रमा भनिएको छ–‘नेपालीहरूलाई ग्रेटर नेपालको अवधारणामा सङ्गठित हुन लामो समय लाग्न सक्नेमा यहाँको यो कदमले त्यो समय आशातीत रूपमा छोटिएको छ ।’

ग्रेटर नेपाल

विशेष