News अपराध सुरक्षा

कांग्रेसका जिल्ला सचिवलाई प्रहरी कार्यालयमै इन्स्पेक्टरको रामधुलाई

कांग्रेसका जिल्ला सचिवलाई प्रहरी कार्यालयमै इन्स्पेक्टरको रामधुलाई

नेपाली कांग्रेस बाराका सचिव महागढीमाई नगरपालिका–७ बेनौलीका ५० वर्षिय भैयाराम यादवलाई प्रहरी कार्यालयमै इन्स्पेक्टर रुपेश साहले रामधुलाई गरेको घट्ना सार्वजनिक भएको छ।

डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेको आदेशमा इन्स्पेक्टर रुपेश साहलगायतले तीन साताअघि उनलाई प्रहरी कार्यालयमै भकुरेका हुन। सचिव यादव सवारी दुर्घटनाका विषयमा पञ्चायती गर्न प्रहरी कार्यालय पुगेका थिए।

सोही क्रममा इन्स्पेक्टरले आफुलाई कुटेको उनको भनाई छ। कुटपिटका कारण उनको बायाँ आँखा, कान, तिघ्रा, खुट्टा र ढाडमा चोट लागेको छ । उनी उपचारका लागि वीरगन्ज १४ बहुअरीस्थित स्पर्श मल्टीस्पेस्लिटी अस्पतालमा भर्ना भएका छन् ।

कुटपिटपछि प्रहरीले उनलाई केही घण्टा नियन्त्रणमा समेत राखेको थियो। घट्ना साँझ करिव ७ बजे भएको हो। त्यस बेला एसपी होबिन्द्र बोगटी कार्यालय वाहिर रहेको पाईएको छ। घटनामा संलग्न भएकालाई कारबाही माग गर्दै कांग्रेस र एकीकृत समाजवादीले बुधवार सिडिओ नवराज सापकोटालाई ज्ञापनपत्र बुझाएका छन्।

‘प्रहरी निरीक्षक साहले सबै नेता दलाल हुन भनेपछि मैले प्रतिवाद गर्न खोज्दा डीएसपी पाण्डेको आदेशमा कपाल तानेर लछारपछार गरे’ भैयारामले भनेका छन्–‘घिसार्दै प्रहरी नियन्त्रण कक्षमा लगेर लात, बुट र हातले कुट्न थाले।’

अपाच्य गाली गर्दै कुटपिट गरेपछि धेरैबेरसम्म नियन्त्रणमा राखेको र एसपी बोगटी कार्यालयमा आएपछि छाडेको उनले बताएका छन् ।

एसपी बोगटीले घटनाबारे सत्यतथ्य बुझेर विभागीय कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

तीन साताअघि कलैया बघवन सडकमा पिकअप भ्यानले ठक्कर दिएपछि महागढीमाई नगरपालिका–७ बेनौली गाउँका २० बर्षीय सुनिल यादव घाइते भएका थिए । त्यहीं घटनाका पीडितलाई पीडकबाट उपचार खर्च भराउने विषयमा प्रहरीमा हुँदै गरेको छलफलमा आफु त्यहाँ पुगेको यादवले वताए।
 

विशेष