युवा नेता शिवाकोटी भन्छन्ः बालकृष्ण खाणलाई न्याय माग्न कांग्रेसले सरकार छोडनुपर्छ!

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाणलाई अन्याय भएको हो भने पार्टीले सरकार छोडुनु पर्ने धारणा राखेका छन्।
केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै नेता शिवाकोटीले शरणार्थी प्रकरणमा खाण दोषी भए कारवाही गर्नु पर्ने र नभए सरकार छोडेर न्याय माग्नु पर्ने वताए। शरणार्थी प्रकरणमा पार्टी स्पष्ट धारणा राख्न नसकेको भन्दै उनले कांग्रेसको द्विविधाले सबैलाई भ्रममा पारेको बताए ।
‘हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई प्रहरीले मुद्दा चलाएर अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ । सभापतिज्यू, तर यो प्रकरणमा हाम्रो द्विविधा अचम्मको छ, यदि उहाँलाई अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट बाहिरिनुप¥यो, होइन भने आफ्नै साथीहरू संलग्न भएको सरकारले थुनामा पु¥याउँदा पार्टीले कारबाही गर्नुपर्छ कि पर्दैन ?’–उनको प्रश्न थियो।
‘यसमा कि थुनामा पठाउने सरकार दोषी छ, कि थुनामा रहेका खाण दोषी छन्, यसबारे पार्टीले आफ्नो धारणा प्रस्ट पार्नुपर्छ,’ शिवाकोटीले अघि भने, ‘यदि खाण निर्दोष हुन् भन्ने पार्टीको निष्कर्ष हो भने सरकारबाट बाहिरिएर न्याय माग्न सक्नुपर्छ । नभए सुशासनको हिमायति ठान्ने कांग्रेसले कुनै पनि भ्रष्टाचारीलाई काँध हाल्न मिल्दैन ।’
केन्द्रीय कार्यसमिति बैठकले खाण गलत हुन् भन्ने भए उनलाई पार्टीको सदस्यबाट कारबाही वा खाण निर्दोष हुन् भन्ने निष्कर्ष भए उनको न्यायका लागि आह्वान गर्न सक्नुपर्ने बताए । ‘सभापतिज्यू यो बैठकले टुंगो लगाउनुपर्छ, तर मलाई खाने बाघले तँलाई पनि खाला भन्ने जस्तो गलत भाष्य स्थापित गर्ने प्रयास गरेर जनमानसमा कांग्रेसलाई रक्षात्मक बनाउने काम नहोस्,’ उनले भने ।