दीपक मल्होत्राले अस्विकार गरे एक क्विन्टल सुन, गृहमन्त्री किन बोलेनन् ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएको करिव एक क्विन्टल सुन बुधवार राजश्व अनुशन्धान विभागले सिनामंगलबाट पक्राउ गर्यो।
मंगलबार साँझ ट्याक्सीमा राखेर भन्सारबाहिर पु-याएको एक अर्ब रुपैयाँ भन्दा बढी मूल्यको सुन विशेष सुराकीका आधारमा नियन्त्रणमा लिईएको हो। सुन बरामदपछि अनुसन्धानका क्रममा ६ जना पक्राउ परेका छन् तर, सुन कस्को हो भन्ने अहिलेसम्म खुलेको छैन।
सुन नियन्त्रणमा परेपछि कतिपय सञ्चार माद्यमले एमाले निकट व्यवसायी दीपक मल्होत्राको सुन भएको समाचार प्रकाशित गरेका थिए। तर, मलहोत्राले बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताए।
उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताउँदै ‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु,’ भन्दै प्रष्टिकरण दिएका छन्।
बुधवार साँझ प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेतले भने उक्त सुन गृहमन्त्री नारायणकाजी श्रेष्ठको भएको जनाएका थिए। फेसवुकमा उनले लेखेका थिए–‘मलाई आएको सूचना यस्तो छ, गृहमन्त्रीले पास गराएको सुन अर्थमन्त्रीले समाते । मैले सोधेँ, कसरी ? जवाफ आयो खोज्नोस, सत्य यही हो । अब कसरी पत्याउनु ? नारायणकाजी कमरेड जस्तो त्यागी, एक रुपैया आम्दानी नभए पनि दैनिक ५० हजार खर्च गरेर हिडन सक्ने त्यागी गृहमन्त्री भएको बेला यस्तो होला भनेर।’
रेडी ट्रेड प्रालिले मगाएको थियो ब्रेक प्याडमा ‘सुन’
हङकङकबाट काठमाण्डौं आएको क्याथे प्यासेफिकको उडानमार्फत आएको मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ भित्र हालेर सुन ल्याएको पाईएको छ।
रेडी ट्रेड प्रालि नामको कम्पनीले १६० सेट ‘ब्रेक प्याड’ मगाएको थियो। कम्पनीको कार्यालय बुढानीलकण्ठमा रहेको पाईएको छ। रेडी ट्रेड प्रालिको तर्फबाट भन्सार एजेन्ट (१५२) नम्बरका यादव पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले त्रिभुवन विमानस्थल कार्यालयबाट सामान बुझेका थिए ।
राजेन्द्रले साउन २ मा १२ प्रज्ञापन पत्र भरेर सामान जिम्मा लिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालले बताएका छन्।
अवैध सुन ल्याउने गिरोहमा संलग्न आरोपमा भारतस्थित पुरानो दिल्ली घर भएर काठमाडौँ बस्ने ५३ वर्षीय थाप्तेन छिरिङसहित ६ जनालाई राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । तस्करीमा संलग्न गिरोहले बा.२ ज २३२४ नम्बरको ट्याक्सीमा राखेर लैजान लागेको अवस्थामा बुधवार साँझ सुन बरामद गरेको थियो ।