२० लाख रोजगारी दिन्छु भनेका रविले ४ वर्ष काम गर्न सक्दिन भन्दै माफी मागे

राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षअघि रोजगारीको ठुलै स्किम निकालेको थियो। सभापति रवि लामिछानेले ०७९ मंसिर १ गते चितवनको नारायणी नदी किनारमा भएको चुनावी सभालाई सम्वोधन गर्दै सय दिनमा सय जना युवा–युवतीलाई स्वदेशमा रोजगारी दिन विदेशका गल्लीगल्लीमा स्टिकर टाँस्ने बाचा गरेका थिए।
उनले देशका युवाहरूलाई फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउने स्किम आएको आफूले सुनेको भन्दै आफ्नो पार्टीको स्किम सुन्न आग्रह गर्दै उनले विदेशमा काम गरिरहेका युवाहरूलाई यही देशमा रोजगारी दिने र बिस्तारै २० लाख युवाले यही देशमा रोजगारी पाउने अवस्था बनाउने बताएका थिए ।
तर, पछिल्लो समय उनको बोली फेरिएको छ। उनले आफनो पार्टी अहिले काम गर्ने ठाउँमा नभएकाले प्रश्न नगर्न आग्रह गरेका छन्। जनताको म्याण्डेड अनुसार छोटो समय सरकारमा गएको र प्रतिपक्षमा बस्न आग्रह आएपछि प्रतिपक्षमा आएको भन्दै चार वर्ष आफूहरूलाई माफ गर्न उनको आग्रह छ।
काठमाडौँको गोकर्णेश्वरमा आयोजित पार्टीको भेलामा उनले रास्वपाको मिसन २०८४ भएको र त्यसका लागि अर्जुन दृष्टि लगाएर सङ्गठन विस्तार गरिरहेको बताए।
उनले रास्वपाका २१ जना सांसद संसद्मा गएपछि संसद्को गरिमा बढेको दाबी गरे। अहिले पार्टी काम गर्ने ठाउँमा नभई बोल्ने ठाउँमा पुगेको र बोल्ने काम गरिरहेको उनको भनाई छ। ‘बजेट बाँड्ने लुछाचुँडीमा गयौँ भने काम गर्न सक्दैनौँ। प्रतिपक्षमा बसेर सङ्गठन निर्माणमा लाग्ने छौँ’ उनले भने।
उनले अहिले प्रश्न नगरी साथ दिन सर्वसाधारणलाई आग्रह गरे। ‘यो चार वर्ष हामीलाई माफ गर्नुहोला। हाम्रो आँखा मिसन ८४ मा छ। अर्जुन दृष्टि भनिन्छ। उनले चाहेको भए अन्त पनि देख्थे तर उनले आँखाको नानी मात्र देखे। मिसन ८४ रास्वपाको अर्जुन दृष्टि हो’ उनले भने।