News

मुस्ताङी राजकुमारको विवाहमा लोमन्थाङमा सार्वजनिक बिदा, यस्तो छ राजाको इतिहाँस

मुस्ताङी राजकुमारको विवाहमा लोमन्थाङमा सार्वजनिक बिदा, यस्तो छ राजाको इतिहाँस

मुस्ताङी राजकुमारको विवाहमा लोमन्थाङ गाउँपालिकाले असार १८ गते सार्वजनिक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष टसि न्हर्वु गुरूङले एक विज्ञप्ति जारी गरी सार्वजनिक विदाको जानकारी दिएका हुन।

असार १८ गते गाउँपालिका कार्यालय, शिक्षण संस्थालगायत मातहतका कार्यालयहरु वन्द रहने विज्ञप्तिमा उल्लेख छ। 

‘मुस्ताङ्गी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ अध्यक्ष गुरूङले निकालेको विज्ञप्तिमा भनिएको छ। 

हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा रैथाने राजा जिग्मी सिङ्गे परवल बिष्ट सांस्कृतिक रुपमा राजाकै रुपमा थिए। कुनै बेला स्वतन्त्र रूपमा रहेको ‘लो’ राज्यका २५औं राजा विष्टलाई त्यहाँका जनसाधारणले सांस्कृतिक राजाका रूपमा मान्दै आएका थिए। यद्यपी, गणतन्त्र स्थापनापछि प्रशासनिक रूपमा उनको राजाको पदवी भने रहेन। 

नेपाल सरकारको प्रतिनिधिको रुपमा गाउँपालिकाहरु भएपनि गाउँपालिकाका अध्यक्षले समेत राजालाई मान्ने गरेका थिए। कुनैपनि सांस्कृतिक कार्यक्रम राजा बिना मनाईदैनथ्यो। गणतन्त्रअघि उनी राजा रहुन्जेल नारायणहिटी र मुस्ताङ दरबारबीच राम्रो सम्बन्ध थियो।

उनले सेनाको मानार्थ प्रमुख सेनानी पद पाएका थिए भने काठमाडौंमै चार महीना आर्मी ट्रेनिङ पनि गरेका थिए। तालिमपछि उनलाई एउटा स्टेनगन, पाँच वटा थ्री नट थ्री राइफल र एउटा पेस्तोल पनि दिईएको थियो। नारायणहिटी राजदरबारले उनलाई सेक्रेटरी (पिए) को पनि ब्यवस्था गरिदिएको थियो। राजाले मासिक पाँच हजार भत्ता पाउँथे भने पिएको तलव १२ हजार थियो।

०७३ पुष १ गते मस्ताङे राजा विष्टको निधन भयो। तिनै विष्टका छोराको विवाह असार १८ गते हुन थालेको हो।

विशेष