आदिपुरुष जाँच गर्न समिति गठन गर्न सरकारलाई इलाहावाद अदालतको आदेश
भारतको इलाहावाद उच्च अदालतले फिल्म ‘आदिपुरुष’का निर्देशक ओम राउत र संवाद लेखक मनोज मुन्तासिर शुक्लालाई अदालतमा उपस्थित हुन आदेश दिएको छ। उनीहरुलाई व्यक्तिगत रूपमा अदालतमा उपस्थित भई आफ्नो धारणा राख्न अदालतले आदेश दिएको हो।
न्यायाधीश राजेश सिंह चौहान र प्रकाश सिंहको जुन २८ को इजलासले फिल्मका संवाद लेखकलगायत फिल्मका निर्माताले पवित्रतालाई ख्याल नगरी फिल्ममा धार्मिक पात्रहरू प्रस्तुत गरेको अदालतले ठहर गरेको छ।
प्रभास, सैफ अली खान र कृति सेनन अभिनीत फिल्मलाई जारी गरिएको प्रमाणपत्रको पुनः जाँच गर्न केन्द्र सरकारलाई समिति गठन गर्न पनि अदालतले निर्देशन दिएको छ।
यस सम्बन्धमा अदालतले वाक तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैलाई पनि सदाचार, नैतिकता वा सार्वजनिक व्यवस्थाविरुद्ध काम गर्न दिन नहुने बताएको छ। ‘यो फिल्म भारतीय संविधानको धारा १९ अन्तर्गत परीक्षणका लागि योग्य देखिएन। फिल्मका संवादहरू अभद्र भाषा मात्र होइन, देवी सीताको चरित्रको अपमान गरिएको छ’ आदेशमा भनिएको छ–‘विभिषणकी श्रीमतीलाई चित्रण गर्ने केही दृश्यहरू पनि पहिलो नजरमा आपत्तिजनक छन्। रावण, उनको लंका आदिको चित्रण पनि हलुका भयो।’
यस्तो फिल्म बनाउँदा फिल्म निर्माता र संवाद लेखकले पात्रहरू पुजनीय छन् भन्ने बुझ्नु जरुरी रहेको अदालतले भनेको छ। ‘लाजमर्दो र अभद्र ढंगले पात्र र संवादलाई प्रस्तुत गरेर जनताको भावनालाई धेरै हदसम्म यो फिल्मले बेवास्ता गरेको छ।’– आदेशमा भनिएको छ।
आदिपुरुष