News

कर्णालीका मन्त्रीको सम्पत्ति ३० वटा कुखुरा, अर्थमन्त्रीको मोबाइल मात्रै १० वटा

कर्णालीका मन्त्रीको सम्पत्ति ३० वटा कुखुरा, अर्थमन्त्रीको मोबाइल मात्रै १० वटा

कर्णाली प्रदेशका तीन जना मन्त्रीले आईतवार सम्पत्ति विवरण सार्वजनिक गरे। सम्पत्ति विवरणमा एक जना मन्त्रीले ३० वटा कुखुरा देखाएका छन्।

वैशाख ७ गते कांग्रेसबाट अर्थमन्त्री बनेका वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीले मन्त्री भएको ९४ दिनपछि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। 

सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलले सुर्खेतको सिम्ता– ६ मा पैतृक सम्पत्तिको घर र सिम्तामै ९ ठाउँमा जग्गा देखाएका छन्।

उनीसँग २५ तोला सुन ६० तोला चाँदी रहेको छ। लक्ष्मी बैंक सुर्खेतमा १ लाख ७० हजार रकम मौज्दात छ। उक्त रकम तलब र कृषि पेसाबाट आर्जन गरेको उल्लेख गरेका छन्। उनीसँग १ भैँसी र ३० वटा कुखुरा छन्। २५ हजारको मोबाइल, ४० हजारको टीभी, २८ हजारको फ्रिज र २५ हजारको घडी पनि उनले विवरणमा देखाएका छन्।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीसँग दैलेख गुराँस गाउँपालिका–६ मा ३ हजार ७८० वर्ग मिटर क्षेत्रफलमा घर तथा वीरेन्द्रनगरमा पनि २ ठाउँमा घर छ। ६ ठाउँमा जग्गा, गुराँस गाउँपालिका–६ मा तीन ठाउँमा र वीरेन्द्रनगरका दुई ठाउँमा घडेरी रहेको छ।

१५ तोला सुन, ३० तोला चाँदी र १५ केजी तामा र तीन वटा बैंकमा गरी ४ लाख २ हजार बराबर नगद छ। उनले त्यो भन्दा वढि ऋण देखाएका छन्। राष्ट्रिय वाणिज्य बैंकबाट उनले २० लाख ऋण लिएको र अहिलेसम्म ११ लाख ऋण तिरेको उल्लेख छ। यस्तै एनएमबी बैकबाट पनि उनले २० लाख नै ऋण लिएका थिए। 

सम्पत्ति विवरणअनुसार अर्थमन्त्री सिंहको सम्पत्ति बढी देखिएको छ। जाजरकोटको बारेकोट स्थायी घर भएका सिंहसँग सोही वडाको–८ नम्बर वडामा पुख्यौली दुई वटा घर, भेरी नगरपालिका–३ मा साढे तीन तलाको पक्की घर, बारेकोट–८ मै ३ रोपनी र बाँकेको कोहलपुर–६ मा १.५ कट्ठा जमिन छ। उनले २० तोला सुन र १५ तोला चाँदी राखेका छन्।

लक्ष्मी बैंकमा दुई लाख र एनएमबी बैंक सुर्खेतमा १ लाख रुपैयाँ नगद छ। उनले धितो पत्र, शेयर वा ऋणपत्र विवरण शीर्षकमा शेयर लगानी उल्लेख गरेका छन्।  उनीसँग २ लाखका १० वटा मोबाइल पनि छन्।

विशेष