News

माल्टा र सिंगापुरको सपना देखाएर उपमेयरका पतिले ५० लाख ठगे, पोल खुलेपछि फरार

माल्टा र सिंगापुरको सपना देखाएर उपमेयरका पतिले ५० लाख ठगे, पोल खुलेपछि फरार

सुर्खेतको गुर्भाकोट नगरपालिकाकी उपमेयर मैना विकका श्रीमान कमानसिंह विक विदेश पठाउने भन्दै ३ महिलासहित १९ जनाबाट झण्डै ५० लाख ठगी गरी फरार भएका छन्। 

पीडितका अनुसार कमानसिंह अहिले सम्पर्कमा छैनन्। उनीमाथि माल्टा र सिंगापुर पठाइदिन्छु भन्दै गुर्भाकोट र सल्यानका १९ जनाको ५० लाख रकम ठगी गरेको आरोप छ। उनले दाङका आफ्ना जेठान यामबहादुर विकमार्फत सम्पूर्ण प्रक्रिया अगाडि बढेका भन्दै सवैलाई ठगेका थिए।

गुर्भाकोट नगरपालिका–९ बोटेचौरका २४ वर्षीय हरिबहादुर वली, लक्ष्मी पुन मगर, कीर्तिलाल डाँगी, खुमबहादुर वली, सल्यानको शारदा नगरपालिकाका–४ का मायाकुमारी गिरी र सुशीला योगीलगायत कमानसिंहले ठगी गरेको आरोप लगाएका छन्। माल्टाका लागि भनेर उनले प्रत्येक व्यक्तिबाट दुई लाख ५० हजार र सिंगापुरका लागि भनेर जनही दुई लाख ६७ हजार रुपैयाँ लिएको आरोप छ।

बोटेचौर, मेहेलकुना र सल्यानका गरी १९ जना व्यक्तिलाई कमानसिंहले ठगी गरेका पीडितले जनाएका छन्। 

गुर्भाकोटकी उपमेयर मैनाले भने पीडितले न्याय पाउनु पर्ने बताउँदै घटनाको बारेमा आफुलाई कुनै जानकारी नै नभएको वताईन। ‘यो घटनाले म आफैं पीडामा छु। श्रीमान् एक महिनादेखि मेरो सम्पर्कमा हुनुहुन्न’ उनले भनिन्–‘म उहाँहरूको पैसा फिर्ता दिलाउन प्रयास गरिरहेकी छु। पीडितले कानुन अनुसार पनि अगाडि बढ्न सक्नुहुन्छ।’
 

विशेष