News

को हो १ क्विन्टल सुनको मालिक? अडुकियासहित केही ठुला ब्यापारी सम्पर्क विहिन

को हो १ क्विन्टल सुनको मालिक? अडुकियासहित केही ठुला ब्यापारी सम्पर्क विहिन

एक सय किलो सुन प्रकरण चर्चामा आएको लामो समय वितिसक्दा पनि त्यसका मुख्य लगानीकर्ता को हुन् भन्ने अझै पत्ता लागरेको छैन।

राजस्व अनुसन्धान विभागले हालसम्म १८ जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये पक्राउ परेका एक जना लगानीकर्ता चिनियाँ व्यापारी रहेको विभागको दाबी छ । चिनियाँ नागरिक जिक्वीन लिङलाई भने विभागको टोलीले ४ साउनमै पक्राउ गरेको थियो । 

उनीबाहेक भने अरु सबै सुन तस्करीका भरिया भएको विभागको दाबी छ । विभाग स्रोतका अनुसार एक क्वीन्टल सुनका मालिकमध्ये एक जना सुन व्यवसायी राकेश अडुकिया रहेको विभागको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

आशंका गरिएका उनीसहितका केही ठूला व्यापारी सम्पर्कविहीन भएका छन् । विभागको टोलीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पास गरेर बाहिरिएको उक्त सुनमा राकेशको संलग्नताबारे केही प्रमाण फेला परेपछि विभागको टोलीले बुधबार उनको नयाँ बजार घरमा छापा मारेको थियो ।

तर, उनी भने फेला परेनन् । काठमाडौंमा जन्मिएका राकेशसँग भारतीय नागरिकतासमेत रहेको विभागको दाबी छ । उनको हङकङमा समेत विभिन्न व्यवसाय रहेको खुलेको छ । सयअघि उनको गोरखा विकास बैंकमा समेत ठूलो लगानी थियो । शेयर कारोबारमा सक्रिय राकेश महँगा गाडीको समेत आयातकर्ता हुन् । 

अडुकियाको ब्रिटिस भर्जिन आइल्याण्डमा पनि कम्पनी रहेको खुलेको छ। कर छल्नका लागि बाह्य मुलुकमा पैसा लुकाउने उद्देश्यले भर्जिन आइल्याण्डमा अडुकियाले समेत कम्पनी खोजेको पानामा पेपर्समा उल्लेख छ। खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संघ (आईसीआईजे) सात वर्षअघि सार्वजनिक गरेको पानामा पेपरको पूर्ण दस्तावेजमा अडुकियाको नाम उल्लेख छ। यो कम्पनीको रजिस्टर्ड ठेगाना भने हङकङ देखाइएको छ। 

अडुकियाले ट्याक्स हेभन भनिने भर्जिन आइल्याण्डमा कृषि प्रिमुरा होलिडङ्स लिमिटेड कम्पनी खोलेका थिए। पानामा पेपर्सले सार्वजनिक गरेको नेपालका व्यवसायी अरुणकुमार चौधरी लगायतको पनि भर्जिन आइल्याण्डमा उसाइन नामको कम्पनी रहेको देखिएको थियो। पानामा पेपर्समा नाम भएका सुर्वश, करण र शीला चौधरी सबैको रजिस्टर्ड ठेगाना दक्षिण अफ्रिका राखिएको थियो। यता अडुकियाले भने हङकङ राखेर कम्पनी खोलेको थिए।

अडुकियाको यही नामको कृषि प्रिमुरा कम्पनी नेपालमा समेत दर्ता छ। अडुकियाले ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी दर्ता गर्दा रजिस्टर्ड ठेगाना हङकङ राखेर खोल्नु, अडुकियाको हङकङमा समेत कार्यालय रहनु र काठमाडौं हङकङ आवत–जावत भइरहनुले पनि यो सुनमा उनको प्रत्यक्ष संलग्नता भएको दाबी राजश्व अनुसन्धान विभागले गरेको छ।

अहिले हङकङबाट काठमाडौं आएको १ क्विन्टल सुन बरामद हुनु र उनी यसको ठिक एक महिनाअघि मात्रै हङकङ जानुले यो सुनको साइनो अडुकियासम्म पुग्ने आशंका राजस्व अनुसन्धान विभागको छ।

उनी गत जुन २६ मा नेपाल वायु सेवा निगमको उडानमार्फत दिल्ली पुगेका थिए। दिल्लीबाट उनी हङकङ पुगेका थिए। हङकङमा अडुकियाले १२ दिन बिताएका थिए। १२ दिनसम्म हङकङमा बसेर उनले त्यहाँ अहिले बरामद भएको सुनको सम्पूर्ण बन्दोबस्त मिलाउने काम गरेको आशंका राजश्वको छ। 

सुन प्रकरणपछि उनी नेपाल छाडेर भागेको आशंका छ । उनीबाहेक सुन तस्करीमा केही अन्य व्यवसायीसमेत हुन सक्ने आशंका विभागको छ । विभागले सुन मालिकसम्म अनुसन्धान तीव्र पारेको जनाएको छ । 
 

विशेष